बेसीसहर–चामे सडक बाढीपहिरोले अवरुद्ध

सडकको लमजुङ खण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्थित अक्टोपस झरनामा बाढी आएको र जगत क्षेत्रमा सडक माथिबाट ढुंगामाटो खस्न थालेपछि बिहीबार अपराह्नदेखि यातायात पूर्ण रूपमा रोकिएको हो।

कार्तिक १४, २०८२

आश गुरुङ

Besisahar-Chame road blocked by floods and landslides

लमजुङ — निरन्तर वर्षासँगै आएको बाढी र पहिरोका कारण लमजुङ–मनाङ जोड्ने एकमात्र बेसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

सडकको लमजुङ खण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्थित अक्टोपस झरनामा बाढी आएको र जगत क्षेत्रमा सडक माथिबाट ढुंगामाटो खस्न थालेपछि बिहीबार अपराह्नदेखि यातायात पूर्ण रूपमा रोकिएको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी रेशम बोहराका अनुसार झरनामा आएको बाढीका कारण मनाङबाट फर्किरहेका सवारी साधन अक्टोपस झरनामा रोकिएका छन् । 'बेसीसहरतर्फ गएका सवारीलाई जगतबाट अगाडि बढ्न रोकिएको छ,' उनले भने, 'केही सवारी झरनामै फसेका छन्।'

त्यस्तै, बेसीसहर नगरपालिका–६, उत्तीसघारी खरखरेमा माथिबाट ढुंगा खस्दा पनि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । बेसीसहर–चामे सडकखण्डकै विभिन्न ठाउँमा रामबजार, जगत र चाम्चे आसपासका क्षेत्रमा पनि बाढीपहिरोको जोखिम बढेको बताइएको छ ।

हाल लमजुङतर्फबाट मनाङ जाने सवारी न्यून भए पनि हिमपातका कारण मनाङबाट फर्किने यात्रुहरूको संख्या बढी भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि उनीहरू बाटोमै रोकिएका छन् ।

बाढीपहिरो गएको स्थानमा प्रहरी टोली खटाइएको डीएसपी बोहराले बताए । तर, लगातारको वर्षाका कारण तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ रहेको प्रहरीले जनाएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully