पाङबारी पिक आरोहणका लागि पुगेका ३ विदेशीसहित ६ जना हिउँमा फसे

उद्धारका लागि साम्दोबाट घोडा लिएर ६ जनाको टोली पिकतर्फ गएको छ 

कार्तिक १२, २०८२

हरिराम उप्रेती

Six people, including 3 foreigners, trapped in snow while climbing Pangbari Peak

गोरखा — चुमनुव्री गाउँपालिका–१ पाङबोचेस्थित पाङबारी पिक आरोहणका लागि आएका ३ जना इटालियन नागरिकसहित ६ जना हिउामा फसेका छन् ।

इटालिन नागरिक ६५ वर्षीय भेल्टर पेरलिनो, ६७ वर्षीय स्तेफानो फर्रोनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटो तथा उनीहरुको गाइड र सहयोगी हिउँमा फसेको जिल्ला प्रहरी कार्यालय गोरखका एसपी भरत विकले बताए । क्याम्प–१ मा १ जना र क्याम्प–४ मा २ जना विदेशी नागरिक र ३ जना नेपाली रहेको जानकारी आएको उनले बताए । 

सोमबार रातिबाट भएको हिमपातमा फसेकाहरुको उद्धारका लागि साम्दोबाट ६ जना स्थानीयहरु घोडा लिएर पाङबारी पिकतर्फ गएको एसपी विकले बताए । ‘उद्धार टोली बिहानै पिकतर्फ गइसकेका छन्, त्यहाँ सञ्चार सम्पर्कमा कठिनाइ रहेछ,’ उनले भने,‘हिउँमा फसेकाहरु टेन्ट टाँगेर सुरक्षित तवरले बस्नुभएको बुझेका छौं, एक जना विदेशी नागरिक खुट्टामा चोट पनि भएकाले घोडासहित उद्धार टोली गएको छ ।’

उनीहरु फसेको स्थान सामागाउँमा रहेको प्रहरी चौकीबाट ९ घण्टा र सशस्त्र प्रहरी बल नेपालको वेस साम्दोबाट ६ घण्टाको पैदल उत्तरमा पर्छ । उनीहरुको उद्धारका लागि बुधबार कैलाश एयरको हेलिकप्टर कम्पनीसँग समन्वय भए पनि मौसमका कारण उड्न नसकेको पनि प्रहरीले जनाएको छ । 

शेर्पा अल्पाइन ट्रेकिङ सर्भिसमार्फत कार्तिक १ गते उनीहरु चुमनुव्री–१ पाङबोचेस्थित ताजुङभन्ज्याङ नाका जाने बाटोमा पर्ने पाङबारी पिक हिमाल आरोहणका लागि आएका थिए । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully