माथिल्लो मनाङको खाङसारसम्मै सडक खुल्यो

प्रशासन, सेना र प्रहरीको सहकार्यमा खाङसारदेखि मनाङ गाउँसम्म डोजर परिचालन गरी बाटो खुलाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारीको भनाइ छ।

कार्तिक १२, २०८२

आश गुरुङ

Road opens all the way to Khangsar in Upper Manang

What you should know

लमजुङ — हिमपातका कारण अवरुद्ध माथिल्लो मनाङमा पर्ने मनाङ ङिस्याङ गाउँपालिका ९, खाङसारसम्मकै सडक खुलेको छ । बढी हिमपात भएको क्षेत्र हुम्डेदेखि मनाङसम्मको करिब ८ किलोमिटर सडक मंगलबार साँझसम्म खुलाइएकोमा मनाङदेखि खाङसारसम्मको करिब करिब ६ किलोमिटर सडक बुधबार खुलाइएको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार सडक खुलाउन खाङसारदेखि मनाङ गाउँतर्फको लागि एउटा डोजर, हुम्डेदेखि मनाङगाउँ तर्फको लागि एउटा डोजर र हुम्डेमा एउटा जोडर परिचालन गरिएको थियो । मनाङ ङिस्याङ गाउँपालिका, निर्माण व्यावसायीसँगको समन्वयमा मेसिनरी सामान प्रयोग गरिएको र नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरीसहितको सुरक्षा फौजले बाटो खुलाएको उनले बताए ।

उनका अनुसार तिलिचो र थोराङ्ला क्षेत्रबाट तल झर्नुपर्ने पर्यटक सबैलाई सवारीसाधनको व्यवस्थापन गरी पठाउने क्रम जारी छ । ‘केही गाडी आउने क्रममा छन् । हामीले सबैलाई तल्लो क्षेत्र आफ्नो गन्तव्यमा जाने पर्यटकलाई पठाएका छौँ,’ उनले भने ।

उनका अनुसार खाङसारबाट करिब ४ सय, माथिल्लो मनाङ क्षेत्रबाट करिब ३ सय र विभिन्न ठाउँबाट गरी करिब ३ सय जना पर्यटकहरू हिँडेर वा सवारी साधनमार्फत तल्लो क्षेत्रमा गएको हुन सक्ने बताए । ‘केही पर्यटक मौसम खुलेपछि गन्तव्यमा जाने भनेर बसेका छन् । मौसम खुला नभएसम्म माथिल्लो क्षेत्रमा जान प्रतिबन्ध लगाएका छौँ,’ उनले भने, ‘मौसम खुला भएपछि त जान सकियो ।’

उनका अनुसार प्रशासन, प्रहरी, सेना, स्थानीय तहको गरी ६ वटा सवारीसाधनले समेत अप्ठ्यारोमा परेकालाई उद्धार सहजीकरण गरिरहेको बताए । उनले मनाङ र हुम्डेबाट गरी २५ वटा भन्दा बढी जिप पर्यटक लिएर बेंसीसहरतर्फ गएको बताए ।

उनका अनुसार सडक खुलाउन खाङसारदेखि मनाङ गाउँतर्फको लागि एउटा डोजर, हुम्डेदेखि मनाङगाउँ तर्फको लागि एउटा डोजर र हुम्डेमा एउटा जोडर परिचालन गरिएको बताए । ‘मनाङ गाउँसम्म चामेदेखि बाटो खुल्ला भएको छ । अब खाङसार सम्म हो । खाङसारसम्म बाटो खुलेपछि सबै पर्यटक तल्लो क्षेत्र झर्छन्,’ उनले भने ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully