तिलिचो बेसक्याम्पमा रोकिए १५ पर्यटक

निरन्तर हिमपातका कारण बाटो अवरुद्ध हुँदा पर्यटकहरू फर्किन नसकेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डीएसपी हरि पौडेलले जानकारी दिए । उनका अनुसार सबै जना हाल सुरक्षित रहेका छन् ।

कार्तिक १२, २०८२

आश गुरुङ

15 tourists stopped at Tilicho Base Camp

What you should know

लमजुङ — अत्यधिक हिमपातका कारण मनाङस्थित तिलिचो बेसक्याम्पमा एउटै पालिकाका ९ सहित १५ जना आन्तरिक पर्यटक रोकिएका छन् ।

धादिङको नीलकण्ठ नगरपालिकाका १० वर्षीय बालकसहित ९ जना, दुई जना चिनियाँ नागरिक र चार जना नेपाली बेसक्याम्पमै रोकिएका हुन् । रोकिएका नेपालीमध्ये एक जनाको खुट्टामा समस्या देखिएकाले उनी तल फर्किन नसकेको प्रहरीले जनाएको छ ।

निरन्तर हिमपातका कारण बाटो अवरुद्ध हुँदा उनीहरू फर्किन नसकेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डीएसपी हरि पौडेलले जानकारी दिए । उनका अनुसार सबै जना हाल सुरक्षित रहेका छन् ।

धादिङ गंगाजमुना गाउँपालिका–५ का रेशु अधिकारीले आफ्नो १० वर्षीय छोरासहित एउटै पालिकाका नौ जना बेसक्याम्पमै रोकिएको बताए । ‘सानो बच्चा र बाक्लो हिउँका कारण तल झर्न सकिएको छैन,’ उनले भने ।

अधिकारीका अनुसार उनीहरू सोमबार साँझ तिलिचो ताल पुगेर फर्किने क्रममा हिमपात सुरु भएपछि बेसक्याम्पमै रोकिएका हुन् । ‘सानो बच्चा छ, खाङसारबाट आउँदा नौ घण्टा लाग्यो । फर्किँदा त १५ घण्टा लाग्छ । यस्तो अवस्थामा कसरी जानु ?’ उनले भने, ‘सञ्चार सम्पर्कमा पनि कठिनाइ भइरहेको छ ।’

रोकिएकामध्ये धादिङ गंगाजमुना–५ का ३९ वर्षीय रेशु अधिकारी, ३४ वर्षीया पार्वती भण्डारी अधिकारी र १० वर्षीय आरोन अधिकारी, नीलकण्ठ–३ का ४४ वर्षीय अशोककुमार बस्नेत, ४० वर्षीया शिरीषा बस्नेत, ४० वर्षीय इवराज थापा क्षेत्री, ३९ वर्षीया इन्द्रकुमारी थापा, २१ वर्षीया नविना थापा र १८ वर्षीय नवीन थापा रहेका छन्।

त्यस्तै पर्सा वीरगन्जका २३ वर्षीय रिजन मानन्धर र चितवन भरतपुरका २३ वर्षीय सिजन मैनाली पनि उनीहरूसँगै छन्। रिजनको खुट्टामा समस्या देखिएपछि उनी तल झर्न नसकेका र साथी सिजन पनि साथमै बसेको रेशुले बताए । उनका अनुसार समूहका सात जना साथी भने हिँडिसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार स्थानीय होटल व्यवसायीहरूसँग समन्वय गरी उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ । ‘मौसम खुल्नेबित्तिकै उनीहरू फर्किन सहज हुनेछ, अवस्था असहज भएमा उद्धार गरिनेछ,’ पौड्यालले भने ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully