पोखरा महानगरको कार्यालय बैंकको भवनमा सार्ने तयारी

महानगरपालिकाले पोखरा–९ नयाँबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको भवनका दुई वटा तला भाडामा लिन लागेको हो । 

कार्तिक ११, २०८२

अनुप पौडेल

Preparations to move Pokhara Metropolitan Office to Bank Building

What you should know

कास्की — भदौ २३ र २४ को आन्दोलनले न्यूरोडस्थित भवनमा क्षति पुगेपछि पोखरा महानगरपालिकाले बैंकको भवन भाडामा लिएर सेवा प्रवाहको तयारी गरेको छ । महानगरपालिकाले पोखरा–९ नयाँबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको भवनका दुई वटा तला भाडामा लिन लागेको हो । 

यसका लागि भाडा दरको विषयमा बैंकसँग छलफल गरेर एकीकृत सेवा सञ्चालनका लागि प्राविधिक मूल्यांकनको काम भइरहेको महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले बताए । ‘पहिल्यैदेखि बाहिर रहेका शाखा–महाशाखालाई पनि त्यहीँ ल्याउने हो । त्यहाँ कसरी सेवा प्रवाह गर्ने, कति खर्च लाग्छ भनेर हामी प्राविधिक र आर्थिक मूल्यांकन गरिरहेका छौं । त्यो सकिएपछि सम्झौता गरेर सर्छौं,’ उनले भने । 

महानगरले बैंकलाई मासिक कति भाडा तिर्ने भन्ने निर्क्यौल भइसकेको छैन । बैंकले सुरूमा प्रति वर्गफिट ४९ रुपैयाँ प्रस्ताव गरेको थियो । यसमा घटाउन आग्रह गरेपछि प्रति वर्गफिट ४० रुपैयाँ आसपासमा दिन बैंक तयार भएको छ । 

दुई वटा तला गरेर २० हजार वर्गफिट भाडामा लिन लागिएको उनले जानकारी दिए । ४० रुपैयाँ प्रति वर्गफिटमा सम्झौता हुँदा महानगरपालिकाले मासिक ८ लाख रुपैयाँ बैंकलाई भाडाबापत तिर्नुपर्ने हुन्छ । महानगरपालिकाले ४० रुपैयाँभन्दा अझै कम गर्न बैंकलाई आग्रह गरेको छ । सम्झौताको समयसम्म बैंक ३५ रुपैयाँ प्रति वर्गफिटमा सहमत भएमा महानगरपालिकाले मासिक ७ लाख रुपैयाँ भाडा तिर्नुपर्नेछ । 

आन्दोलनअघि पनि महानगरपालिकाले पूर्वाधार विकास महाशाखा, आर्थिक विकास महाशाखा र अन्य संरचनाको भाडाबापत मासिक करिब ३ लाख रुपैयाँ तिर्दै आएको छ । हाल भाडामा लिन लागिएको भवनमा सबै शाखा–महाशाखा सार्दा महानगरपालिकालाई ४ देखि ५ लाख रुपैयाँ थप आर्थिक भार पर्नेछ । 

मुख्य भवनबाट प्रवाह हुने सेवा गत असोज १ देखि पोखरा सभागृह, महानगरकै दमकल भवन, विभिन्न महाशाखाबाट सञ्चालनमा छन् । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, सार्वजनिक लेखा समिति, कानुन शाखा, सरसफाइ शाखा, सूचना प्रविधि शाखा पोखरा–९ शान्ति वनस्थित दमकल भवनमा राखिएको छ । प्रशासन, राजस्व र शहरी विकास महाशाखा, भण्डार, तथ्यांक विपद्/उजुरी फर्स्योट, अभिलेखीकरण, पञ्जीकरण, लेखा शाखा र महानगर प्रहरी बल पोखरा सभागृहमा छन् । आर्थिक प्रशासन महाशाखा प्रमुखको कार्यकक्ष र कोष प्रशासन शाखाको सेवा पोखरा–१७ ड्यामसाइडस्थित शिक्षा महाशाखाको भवनबाट प्रवाह भइरहेको छ ।

न्यूरोडस्थित पूर्वाधार महाशाखा भएको भवनबाट पूर्वाधार, आन्तरिक लेखा परीक्षण शाखा, योजना, भूमि प्रशासन, खरिद शाखाका सेवा दिइएको छ । पोखरा–७ जनप्रिय मार्गस्थित आर्थिक विकास महाशाखाबाट आर्थिकसहित सहकारी शाखा, श्रम तथा रोजगार शाखा (सामी कार्यक्रमसमेत) र व्यवसाय प्रवर्द्धन केन्द्रसम्बन्धी काम भइरहेका छन् । 

महानगरपालिकाले पोखराको ड्याइसाइडस्थित पोखरा उपत्यका नगर विकास समितिको जग्गामा प्रशासकीय भवन बनाउने योजना बनाएको छ । करिब ४५ रोपनी क्षेत्रफल रहेको ठाउँमा भवन बनाउने योजनाअनुसार डीपीआर निर्माणको काम भइरहेको छ । अन्य ठाउँमा अस्थायी संरचना बनाउँदा खर्च र समय लाग्ने भएकाले त्यहाँ भवन निर्माण नहुँदासम्म प्रयोग गर्ने गरी महानगरपालिकाले बैंकको दुई वटा तला भाडामा लिन लागेको हो । 

अनुप पौडेल

Link copied successfully