कास्कीमा प्रहरी कार्यालय आगजनी र लुटपाट गर्ने १८ जना पक्राउ

पक्राउ पर्नेमा पहिला पनि अपराधमा संलग्न रहेका, प्रहरी हिरासतबाट भागेकाहरु पनि छन् ।

कार्तिक ११, २०८२

अनुप पौडेल

18 arrested for arson and looting of police office in Kaski

What you should know

कास्की — भदौ २४ को आगजनी, तोडफोड र लुटपाटमा संलग्न १८ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की, प्रहरी चौकी नयाँपुलमा आगजनी, तोडफोड र प्रहरी पोसाक दुरुपयोग गरेका १८ जना पक्राउ परेका हुन् । यीमध्ये १० जनाविरुद्ध अझै मुद्दा चलिरहेको र ८ जना धरौटी बुझाएर छुटेको कार्यालयका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । 

पक्राउ परेर हिरासतमा रहनेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का २४ वर्षीय राजेश मग्राती, पोखरा महानगरपालिका–४ अधिकारी टोलका ५४ वर्षीय नारायण साई, पोखरा–११ फूलबारीका २२ वर्षीय अरुण विक, पोखरा–१ कसेरीका ४१ वर्षीय रुपेश मगर, पोखरा–१ मोहरिया टोल बस्ने ४३ वर्षीय दिपु साई, अन्नपूर्ण गाउँपालिका–५ नयाँपुलका ६२ वर्षीय थमबहादुर कार्की, ४७ वर्षीय लङबहादुर नेपाली, ४२ वर्षीय पूर्णबहादुर नेपाली र १९ वर्षीय अरबिन विक, अन्नपूर्ण–६ हाइजुङका २२ वर्षीय ग्रिस क्षेत्री छन् । उनीहरुमाथि प्रहरीले आपराधिक उपद्रवसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । 

पोखरा–९ पृथ्वीचोक बस्ने २४ वर्षीय अमृत घले, पोखरा–२० मौजाका ३९ वर्षीय चन्द्रबहादुर गुरुङ र २२ वर्षीय सागर परियार, पोखरा–५ पर्स्याङ बस्ने ४५ वर्षीय राजेश शाही, २९ वर्षीय सागर अधिकारी र २९ वर्षकै दिपेश शाह, पोखरा–८ बस्ने २४ वर्षीय दिपेश शाही ठकुरी, गोरखा घर भई पोखरा–१६ बस्ने २४ वर्षीय सुरेश गुरुङ धरौटीमा रिहा भएका छन् । उनीहरुलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान गर्दा जिल्ला प्रशासन कार्यालय कास्कीले २ देखि ३ हजार रुपैयाँसम्म धरौटी लिएर छोडेको हो । 

पक्राउ परेकामध्ये केही पटके अपराधी रहेको खुलेको छ । पोखरा–१ कसेरीका ४१ वर्षीय रुपेश मगरविरुद्ध २०६२ सालमा सवारी तोडफोड गरेको आरोपमा सार्वजनिक अपराधको मुद्दा चलेको थियो । उनी यसपटक वडा प्रहरी कार्यालय बगरमा आगजनी र तोडफोडमा संलग्न रहेको पाइएको छ । 

अर्का व्यक्ति धादिङ घर भई पोखराको मानवअधिकार चोक बस्ने २४ वर्षीय राजेश मग्रातीविरुद्ध ०७९ सालमा अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको खुलेको छ । 

कास्की नयाँपुलका ४२ वर्षीय पूर्णबहादुर नेपाली प्रहरी हिरासतबाट भागेर घरनजिकैको प्रहरी चौकी आगजनी गर्न पुगेको भेटिएको छ । अभद्र व्यवहारसम्बन्धी मुद्दामा वडा प्रहरी कार्यालय बगरको हिरासतमा रहेका उनी त्यहाँबाट भागेर प्रहरी चौकी नयाँपुलको आगजनी, तोडफोड र हतियार लुटपाटमा संलग्न भएका थिए । 

अनुप पौडेल

Link copied successfully