ब्रिटिस नागरिकको समूहलाई लिएर मनाङ पुगेका उनी शनिबार दिउँसो फू गाउँ गएर फर्किने क्रममा लेक लागेर बिरामी परेका थिए ।
लमजुङ — मनाङको नार्पाभूमि गाउँपालिका–५, फू गाउँ गएर फर्किने क्रममा लेक लागेर एक गाइड (पथ प्रदर्शक) को मृत्यु भएको छ ।
मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–७ का ४४ वर्षीय राम थापा मगर रहेको मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताए । उनका अनुसार ब्रिटिस नागरिकहरुको समूहलाई लिएर पथ प्रदर्शकका रुपमा मनाङ पुगेका थापा शनिबार दिउँसो फू गाउँ गएर फर्किने क्रममा लेक लागेर बिरामी परेका थिए ।
घटनाको जानकारी आइतबार बिहान करिब ७ बजे प्रहरी चौकी मेतामा पुगेपछि प्रहरी निरीक्षक हरिबहादुर पाण्डेको कमाण्डमा तीन जनाको टोली उद्धारका लागि घटनास्थलतर्फ गएको थियो । उनका अनुसार थापा नार्पाभूमि गाउँपालिका–२, मेतास्थित केरेला होटलमा बास बसेका थिए ।
प्रहरीका अनुसार हेली एभरेस्टको हेलिकोप्टरबाट उद्धार गर्नुअघि नै आइतबार बिहान करिब ७ः१५ बजेतिर होटलमै उनको मृत्यु भएको सूचना प्राप्त भएको थियो ।
घटनापछि जिल्ला प्रहरी कार्यालय मनाङबाट प्रहरी निरीक्षक सुनिल लामिछानेको नेतृत्वमा अर्को टोली घटनास्थल पुगेको थियो । शवलाई हेलिकोप्टरमार्फत उद्धार गरी सोमबार बिहान १०ः२५ बजे सदरमुकाम चामे ल्याइएको थियो ।
प्रारम्भिक मुचुल्का र अनुसन्धानपछि शवलाई थप अनुसन्धान तथा पोस्टमार्टमका लागि दिउँसो १२ः२५ बजे शिक्षण अस्पताल, काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी पौड्यालले जानकारी दिए ।
मनाङको नार्पाभूमि गाउँपालिकामा शुक्रबार र शनिबार मात्रै दुई जना भरियाको मृत्यु भएको थियो ।
