मनाङमा लेक लागेर एक जनाको मृत्यु

काङला फेदीबाट पर्यटकको सामान बोकेर फर्कने क्रममा उच्च हिमाली क्षेत्रमा लेक लागेर उनी बेहोस भएका थिए ।

कार्तिक ८, २०८२

आश गुरुङ

One person dies after falling into a lake in Manang

लमजुङ — मनाङको नार्पाभूमि गाउँपालिका–४, काङला फेदी क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार लमजुङ क्व्होलासोथर गाउँपालिका–४, भुजुङका ४८ वर्षीय डिलबहादुर गुरुङको शनिबार मृत्यु भएको हो । 

काङला फेदी (करिब ४,५०० मि.) बाट पर्यटकको सामान बोकेर फर्कने क्रममा उच्च हिमाली क्षेत्रमा लेक लागेर उनी बेहोस भएका थिए ।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक अर्जुन बस्नेतको कमाण्डमा २ जनाको टोली एयर डाइनेस्टीको हेलिकोप्टरमार्फत उद्धार गरी गुरुङलाई प्रहरी सहायक हवल्दार कृष्ण कामीको साथमा उपचारका लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको थियो । डिलबहादुरको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

अस्पतालमा बिहान १०:५६ बजे चिकित्सकले उनको मृत्यु पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन बस्नेतले दिए ।

मृतकका भाइ केशबहादुर गुरुङले प्रहरीलाई बताएअनुसार शनिबार बिहान करिब ६ बजे नै डिलबहादुरलाई लेक लागेको थियो ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully