मनाङमा लेक लाग्दा थप एकको मृत्यु

जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार नुवाकोटको किस्पाङ गाउँपालिका–१ का ४९ वर्षीय साम्बा घलेको शुक्रबार दिउँसो ३ बजेतिर लेक लागेर घटनास्थलमै मृत्यु भएको हो।

कार्तिक ८, २०८२

आश गुरुङ

One more person dies in flash flood in Manang

लमजुङ — मनाङको नार्पाभूमि गाउँपालिका–४, याकखर्कमा लेक लागेर थप एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार नुवाकोटको किस्पाङ गाउँपालिका–१ का ४९ वर्षीय साम्बा घलेको शुक्रबार दिउँसो ३ बजेतिर लेक लागेर घटनास्थलमै मृत्यु भएको हो।

यसअघि शनिबार मात्रै सोही क्षेत्रमा पर्ने काङ्ला फेदीमा लमजुङको क्व्होंलासोथार गाउँपालिका–४, भुजुङका डिलबहादुर गुरुङको लेक लागेर मृत्यु भएको थियो।

मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार साम्बा घले याकखर्कमा पर्यटकको भारी बोकेर फर्कने क्रममा अस्वस्थ भएका थिए । उनी बिरामी परेको केही समयमा नै निधन भएको मृतकका ज्वाइँ मारिस तामाङले जानकारी दिएका छन् ।

मौसम खराबीका कारण तत्काल उद्धार कार्य सम्भव नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी पौड्यालका अनुसार घटनास्थल प्रहरी चौकी च्याखुबाट करिब १४ किलोमिटर उत्तरतर्फ रहेको छ, जहाँ पुग्न करिब १२ घण्टा पैदल हिँड्नुपर्छ ।

शव आइतबार हेलिकप्टरमार्फत ल्याइने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । यो याकखर्क समुद्री सतहदेखि करिब ४००० मिटर उचाइमा रहेको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully