तनहुँ कारागारबाट भागेका थप दुई जना लमजुङमा पक्राउ

कास्की र तनहुँ कारागारबाट भागेका लमजुङका २७ जना अझै फरार रहेका छन् ।

कार्तिक ५, २०८२

आश गुरुङ

Two more people who escaped from Tanahun prison arrested in Lamjung

What you should know

लमजुङ — भदौ २४ गतेको प्रदर्शनका क्रममा तनहुँको दमौलीस्थित कारागारबाट भागेका थप २ जना थुनुवा लमजुङमा पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये नवलपरासी सुस्ता गाउँपालिका–४ का ३९ वर्षीय सन्तोष गुरुङ (चोरी मुद्दा) र बेंसीसहर नगरपालिका–३, रानीकुवाका ४५ वर्षीय विनोद गुरुङ (जबरजस्ती करणी मुद्दा) रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी रेशम बोहराले पक्राउ परेका २ जनालाई कारागार कार्यालय तनहुँमा बुझाएको बताए । उनका अनुसार भदौ २४ गतेको प्रदर्शनका क्रममा फरार भएका कैदी तथा थुनुवामध्ये हालसम्म ४५ जना नियन्त्रणमा लिई सम्बन्धित कारागारमा बुझाइसकिएको छ । बाँकी फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको उनले बताए ।

गत साउन ३ गते लमजुङ कारागारको पर्खाल भत्किएपछि कैदी तथा थुनुवामध्ये ७८ जनालाई कास्की कारागारमा र ३० जनालाई तनहुँ कारागारमा गरी १ सय ८ जना कैदी तथा थुनुवा स्थानान्तरण गरिएको थियो । स्थानान्तरण गरिएका सबैजना भदौ २४ गतेकारागारबाट भागेका थिए ।

प्रहरीका अनुसार अब कास्कीबाट भागेका २६ जना र तनहुँबाट भागेका १ जना गरी लमजुङबाट स्थानान्तरण गरिएका २७ जना कैदी तथा थुनुवा अझै फरार छन् । फरारमध्ये धेरैजना आफन्त वा परिवारकहाँ लुकिछिपी बसेको अवस्थामा फेला परेको र फरार रहेकाहरु पनि आफन्त वा परिवारकहाँ रहेको हुन सक्ने उनले बताए ।

‘हामीले फरार रहेकाहरुको वतनअनुसार खोजी गरिरहेका छौं । लुकिछिपी बसेपनि कानुनी सजाय भोग्नै पर्छ । जुन ठाउँबाट भागेर आएका कैदी र थुनुवा हुन्, ती ठाउँमा पुग्न सार्वजनिक सूचना जारी गरेका छौं । नगएको खण्डमा पक्राउ पर्छ नै’ उनले भने ।

उनका अनुसार केही अदालतको आदेशमा थुनामुक्त भएका छन् । केही आफैं कारागार फर्किएका छन् । फरारको खोजी कार्य निरन्तर जारी रहेको उनले बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully