मृतक भरतपुर महानगरपालिका–१७ भुवनवस्तीका ३१ वर्षीय विकास परियार रहेको प्रहरीले जनाएको छ ।
लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ घट्टेखोलाको बाटोमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बुधबार अपरान्ह ४ बजेतिर बाटोमा शव फेला परेको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतक भरतपुर महानगरपालिका–१७ भुवनवस्तीका ३१ वर्षीय विकास परियार रहेको प्रहरीले जनाएको छ ।
परियारको सनाखत उनका मामा मर्स्याङ्दी गाउँपालिका–७ तरान्चे निवासी आइतमान परियारले गरेका हुन् । प्रहरीका अनुसार परियार दसैं पूर्णिमाको भोलिपल्ट (असोज २२ गते) देखि मामा घरमा बस्दै आएका थिए । बुधबार बिहान घर फर्कने भन्दै निस्किएका उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शवलाई मुचुल्का उठाएर पोस्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङमा राखिएको जिल्ला प्रहरी प्रमुख डीएसपी रेशम बोहराले जानकारी दिए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
