कास्की कारागारबाट फरार कैदीले घरमै गरे आत्महत्या

जुन घरमा हत्या गरेर जेल पुगेका थिए, फर्किएर त्यहीँ गरे आत्महत्या

कार्तिक ३, २०८२

अनुप पौडेल

Escaped prisoner from Kaski Prison commits suicide at home

What you should know

कास्की — जेन–जी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार एक जना कैदी आत्महत्या गरेका छन् । ज्यानसम्बन्धी कसुरमा दोषी ठहर भई कास्की कारागारमा रहेका ५५ वर्षीय देवबहादुर विश्वकर्मा सोमबार बिहान पोखरा महानगरपालिका–२६ बरालडाँडास्थित घरमा मृत भेटिएका हुन् ।

प्लास्टिकको डोरीले पासो लगाएको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए ।

उनी करिब ४ वर्षअघि कोरोना भाइरस संक्रमणको समयमा हत्या अभियोगमा पक्राउ परेका थिए । उनले सहजीवन (विवाह नगरे पनि सँगै जीवन बिताउने) सम्बन्धमा रहेकी महिलाको हत्या गरेका थिए ।

जुन घरमा सोमबार बिहान देवबहादुर मृत भेटिए, त्यही घरमा उनले करिब ४ वर्षअघि ती महिलाको हत्या गरेको छिमेकी रमेश बरालले सुनाए । ‘आफू अहिले जुन घरमा झुन्डिए, त्यही घरमा हत्या गरेका हुन्,’ उनले सुनाए, ‘देवबहादुर आएका छन् भन्ने सुनेको थिएँ, भेट भएको थिएन । प्रहरीले खोजेको थाहा पाएर कहिले वनतिर, कहिले कता लुक्ने गर्थे ।’

उनले जुन घरमा आत्महत्या गरे, त्यसको छेउमै उनका वृद्ध बुबा र तीन जना दाजुहरू पनि बस्छन् । उनीहरूले नै देवबहादुरले आत्महत्या गरेको देखेपछि गुहार मागेका थिए । ‘घटना कति बेला भयो भन्ने ठ्याक्कै थाहा छैन,’ उनले थपे, ‘दाजुभाइको घर जोडिएको छ, उनीहरूले नै देखेका हुन् ।’

हत्या अभियोगमा कारागार पुग्नुअघि उनी गाउँमै खेती मजदुरी गर्थे । उनका श्रीमती र चार छोरा छन् । श्रीमती र कान्छो छोरा बजारतिर छुट्टै बस्थे । देवबहादुरले आत्महत्या गरेको थाहा पाएपछि उनीहरू सोमबार बिहान घर गएका थिए । उनको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

अनुप

Link copied successfully