१० वर्षमा ८ पटक म्याद थप्दा पनि सडक नबनेपछि ठेक्का तोड्ने प्रक्रिया सुरु

८ पटकसम्म म्याद थप गर्दा पनि काम नगरेर सडक अलपत्र बनेपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ।

कार्तिक २, २०८२

हरिराम उप्रेती

The process of terminating the contract has begun after the road was not built despite 8 extensions in 10 years.

What you should know

गोरखा — २०७२ वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु बारपाक जोड्ने सडक अलपत्र पार्ने लोहनी एण्ड ब्रदर्शको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । ८ पटकसम्म म्याद थप गर्दा पनि काम नगरेर सडक अलपत्र बनेपछि गोरखा सडक योजनाले १५ दिन भित्र ठेक्का तोड्नु नपर्ने मानसिक कारण भए पेश गर्न सार्वजनिक सूचना मार्फत ठेकेदार कम्पनीलाई आग्रह गरेको हो ।

बाह्रकिलोबाट बारपाकसम्म ४६.६ किलोमिटर सडक चार खण्ड छुट्टाएर ठेक्का लगाइएको थियो । २०७५ असार भित्रै कालोपत्रे सकिने गरी ठेक्का लागेको बारपाक सडक अन्तर्गत अर्कुलदेखि ढोडेनीसम्मको ८ किलोमिटर सडक लोहनी एण्ड ब्रदर्श प्रालिले १० वर्षदेखि अलपत्र पारेको छ ।

उक्त खण्डको २०७२ असार ३१ गते ठेक्का सम्झौता गर्दा २०७४ असार १५ भित्रै काम सम्पन्न गर्नुपर्ने उल्लेख थियो । तर आठ पटकसम्म म्याद थप हुँदा पनि काम नभएपछि कार्यालयले ठेक्का तोड्ने प्रक्रिया शुरु गरेको कार्यालका इन्जिनियर कल्याण खड्काले बताए ।

उक्त कम्पनीलाई अन्तिम म्याद आगामी पौष ३० सम्म थपिएको छ । तर झण्डै डेढ वर्षदेखि कम्पनीले काम नै नगरेको कार्यालयले जनाएको छ । ‘अघिल्लो आर्थिक वर्षमा काम नै भएन, यो वर्ष पनि अहिले सम्म ठेकेदार कम्पनीले काम शुरु गरेको छैन,’ उनले भने, ‘काम नै नगरेपछि ठेक्का तोड्ने प्रक्रिया शुरु गरेका हौँ, आज स्पष्टिकरण पेश गर्न सूचना निकालेका हौँ, अब विभागसँग छलफल गरेर ठेक्का तोड्ने प्रक्रिया अघि बढाउनेछौँ ।’

उक्त खण्डको ८० प्रतिशत काम सकिएको उनले बताए । केही वर्षअघि भएको कालोपत्र पनि उप्किसकेकोले पुनः मर्मत गर्नुपर्ने काम बाँकी रहेको कार्यालयले जनाएको छ ।

निर्माण व्यवसायीको बेवास्ताले उक्त खण्ड बर्षौँदेखि अलपत्र पर्दै आएको हो । ‘कालोपत्रे, रिपेयर लगायतको काम बाँकी नै छ,’ उनले भने, ‘ठेक्का लागेको अन्य खण्डको काम सकिएको छ, यही खण्डमा काम नहुँदा समस्या भयो ।’

बारपाक सडक खण्ड अन्तर्गत बालुवादेखि बारपाकसम्मको अन्तिम खण्डको काम भने सकिएको छ । बारपाक पुग्ने सडकको मसानेठाँटीदेखि निवेल खहरेसम्मको १२ किलोमिटर क्षेत्र मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्छ । उक्त खण्डको कालोपत्र भइसकेको छ । सुरुको खण्डको ५ किलोमिटर र १७ देखि २२ किलोमिटरको खण्डको पाँच किलोमिटर क्षेत्र पनि कालोपत्र भइसकेको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully