हाइलाइन २० मिटरदेखि सयैं मिटर उचाइमा तानिएको लाइनमा सेफ्टी हार्नेस र लिस प्रणालीसहित हिँड्ने साहसिक खेल हो । ‘द क्लिफ’मा पहिलोपटक शंकर कोइरालाले नयाँ रेकर्ड राखेका छन् ।
What you should know
काठमाडौँ — पर्वतको कुस्मा र बागलुङको बलेवाबीच पर्ने कालीगण्डकी खोँचमा हाइलाइनको अभ्यास गरिएको छ । हाल जर्मनीमा बसोबास गरिरहेका धनकुटा हिलेका शंकर कोइरालाले आफ्नो 'ड्रिम प्रोजेक्ट'का रुपमा यो कार्यक्रम गरेका हुन् ।
कोइराला १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आएका छन् । बन्जीलगायत एड्भेन्चर हबका रूपमा परिचित ‘द क्लिफ’मा पहिलोपटक हाइलाइन अभ्यास गरिएको हो । साहसिक पर्यटन प्रवर्द्धनको उद्देश्यले कोइरालाको संयोजनमा नेपालमा हाइलाइनको यस्तो प्रयास हुनु सराहनीय रहेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।
हाइलाइनको क्रु सदस्यमा कोइरालासहित ३ जना नेपाली र ३ विदेशी छन् । असोज २९ देखि सुरु भएको हाइलाइन कार्यक्रम आज सकिनेछ । नेपाल स्ल्याकलाइन कम्युनिटी र लोकप्रिय एड्भेन्चर हब ‘द क्लिफ’को सहकार्यमा यो हाइलाइन आयोजना गरिएको हो । दुई वर्षदेखिको निरन्तर सम्पर्क र सहकार्यले यो सम्भव भएको कोइरालाले बताए।
द क्लिफका अध्यक्ष कार्कीका अनुसार नेपालमा पहिलोपटक यति उचाइमा हाइलाइन गरिएको हो । 'यसले साहसिक पर्यटनमा नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा गरिएको छ,' उनले भने ।
४०८ मिटर लम्बाइको हाइलाइन गर्ने डोरीले कुस्मातर्फ हार्नेस जिपलाइन र बलेवातर्फ द क्लिफलाई जोडेको छ । नेपाल स्ल्याकलाइन कम्युनिटीका सदस्यहरूको अनुभव र युरोपेली प्रशिक्षकको सहयोगमा यो परियोजना अघि बढाइएको कोइरालाले बताए । उनका अनुसार खेल हेर्दा डरलाग्दो देखिए पनि पूर्ण रूपमा सुरक्षा मापदण्ड अपनाइएको छ ।
हाइलाइन २० मिटरदेखि सयैं मिटर उचाइमा तानिएको लाइनमा सेफ्टी हार्नेस र लिस प्रणालीसहित हिँड्ने साहसिक खेल हो । सन्तुलनका लागि गहिरो ध्यान, स्थिर नजर र श्वास नियन्त्रण अत्यावश्यक हुन्छ । यो पर्वत, पुल र खोँचमा अभ्यास गरिन्छ र मानसिक तथा शारीरिक शक्ति परीक्षण गर्ने अत्यन्त रोमाञ्चक खेल हो ।
