भैंसी आहाल खेल्ने दाम्राङमा बन्यो आकर्षक पोखरी

दाम्राङ पोखरी दोर्दी गाउँपालिका-४ मा पर्ने भए पनि वडा नं. ५ र ६ बाट पनि नजिक पर्छ । यहाँबाट आउने गोरेटो बाटो छ । पोखरीको चारैतर्फ ढुंगाको पर्खाल लगाइएको छ ।

आश्विन ३०, २०८२

आश गुरुङ

An attractive pond has been created in Damrang, where buffaloes play.

What you should know

लमजुङ — बेलायतको एन्डोभर बस्ने यम घले श्रीमती मायाका साथ गाउँ आए । दोर्दी गाउँपालिका-६, कर्ती घर भएका उनको गाउँपालिका केन्द्र नौथर शेरामा घर छ । उनले दसैं त्यहीं मनाए ।

एकदिन उनले डाँडाकाँडा घुम्ने सोच बनाए । दाम्राङ डाँडामा पोखरी बनेको सुने । फोटोहरु उनले सामाजिक सञ्जालमा पनि देखेका थिए । आफ्नै आँखाले हेर्न उनी श्रीमतीलाई साथ लिएर नौथर शेराबाट शीख्र, कुखुरेढुंगा, कुप्लिङ हुँदै कबाकी, बाँसबोट हुँदै दाम्राङ पुगे ।

कच्ची मोटरबाटोमार्फत छेवैको रेष्टुरेन्टमा पुगेका उनी जिप बिसाएर पोखरीतर्फ लम्किए । पोखरी देख्दा उनी दंग परे । ‘भैंसी आहाल खेल्ने ठाउँमा कति ठूलो पोखरी’ उनले आश्चर्य व्यक्त गरे । भने, ‘यो ठाउँमा हामीले भैंसीलाई आहाल बसाएका थियौं, अहिले त पोखरी पो बनेछ ।’ यही ठाउँ भएर उनी ससुराली पाचोक आउनेजाने गर्थे ।

नौथर शेरा घर भई अमेरिकाबाट आएका कुसुम अधिकारीले जंगलको बीचमा पोखरी देखे । पोखरीमा माछा खेलेको देख्दा उनले गाउँपालिका अध्यक्ष युवराज अधिकारीलाई जिज्ञासा राखे, ‘पोखरी त बनाउनुभयो, यहाँ माछा कसरी आयो ? अध्यक्ष अधिकारीले भने, ‘हामीले २ वर्षअघि ३ हजार २ सय जति माछाका भुरा छोडेका थियौं । ठूला माछाहरु समातिसकेको हुन सक्छ । यसलाई संरक्षण गर्नुपर्नेछ ।’ यो ठाउँ समुद्री सतहदेखि १ हजार ९ सय ३५ मिटर उचाईमा रहेको छ । यो ठाउँ नजिकै फुटबल खेलमैदान पनि निर्माण गरिएको छ । यहाँ नेपाली नयाँ वर्षमा दाम्राङ मेला लाग्छ ।

दाम्राङ पोखरी दोर्दी गाउँपालिका-४ मा पर्ने भए पनि वडा नं. ५ र ६ बाट पनि नजिक पर्छ । यहाँबाट आउने गोरेटो बाटो छ । पोखरीको चारैतर्फ ढुंगाको पर्खाल लगाइएको छ । यो पोखरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको करिब २६ लाख रुपैयाँ खर्च गरेर दोर्दी गाउँपालिकाले २ वर्षअघि निर्माण गरेको हो । पोखरीको लम्बाई ७३ मिटर र चौडाई ६५ मिटर रहेको गाउँपालिका अध्यक्ष अधिकारीले बताए । ‘पहिले भैंसी खेल्ने आहाल थियो । उहिल्यै ढुंगाको पर्खाल लगाएको देखिए पनि सबै भग्नावेशष थिए । हिउँदमा पूरै पानी सुक्थ्यो,’ उनले भने, ‘अहिले पानी जम्मा भएको छ । पोखरीमा पानी सुक्न नदिन पानी थप्न मिल्ने गरी व्यवस्थापन गरेका छौं ।’ उनका अनुसार पोखरीमा फोहर फाल्न पाइँदैन ।

An attractive pond has been created in Damrang, where buffaloes play.

यो पोखरीमा जंगली जनावरले पानी खान मिल्ने गरी खुट्किला (सिँढी) निर्माण गरिएका छन् । पहिलेको भैंसी खेल्ने आहाल हुँदा हिउँदमा पानी सुक्थ्यो । अहिले वन्यजन्तु र चराचुरुंगीले हिउँदको बेला उक्त पोखरीको पानी खान्छन् । दाम्राङ डाँडामा रेष्टुरेन्ट चलाउँदै आएकी कोपिला गुरुङले मानिस नपुगेको बेला बन्यजन्तु र चराचुरुंगीले पानी खाइरहेको देख्न सकिने बताइन् ।

गाउँपालिकाले पोखरी आसपास ४ वटा टहरा बनाएका छन् । टहरामै बस्न वा टेन्ट टाँगेर बस्ने सुविधा पनि छ । टहरामा शौचालय र नुहाउने कोठा छन् । डिभिजन वन कार्यालयले हरित पार्क निर्माण गरेको थियो । पार्कभित्र ढुंगाका सिँढी निर्माण गरिएका छन् । तारजाली लगाइएको छ । विभिन्न प्रजातिका रुखबिरुवा छन् । पिकनिक खाने ठाउँ छ । खानेपानीको व्यवस्था छ । बर्खायामका कारण वरपर झाडी छ । यसको मर्मत सम्भार गर्ने तयारी गरिएको अध्यक्ष अधिकारीले बताए ।

यहाँबाट बौद्ध हिमाल, डा. हर्क पिक, लमजुङ हिमाल, अन्नपूर्ण, माछापुच्छ्रे, हिमाल चुली, मनास्लुलगायत दर्जन हिमश्रृंखला देख्न सकिन्छ । राम्रो मौसमको समय पोखरादेखि धादिङसम्मका भूगोल देखिन्छ ।

दाम्राङ पोखरीबाट करिब १५ मिनेट हिँडेपछि साततले गुफा पुग्न सकिन्छ । करिब ८० मिटर लामो गुफा एक ठाउँबाट पसेर अर्को ठाउँबाट निस्कन मिल्ने अध्यक्ष अधिकारी बताउँछन् । पश्चिमतर्फ थुम्कामा घले गढी, खुलाल गढी र पाण्डे गढी छन् । ती गढीमा बाइसेचौबिसे राजाका पालाको भग्नावशेष छन् । पुरातत्व विभागले यसको अध्ययन गरे पनि संरक्षण र संवर्द्धन हुन सकेको छैन ।

An attractive pond has been created in Damrang, where buffaloes play.

दाम्राङ पोखरी नौथर शेराबाट ठुलाखेत, कामचोक, बाँसबोट हुँदै पनि जान सकिन्छ । नौथर शेराबाट दाम्राङ पुग्न १ देखि साढे १ घण्टा जिप वा मोटरसाइकलको यात्रा गर्नुपर्छ । हिँड्न सक्नेले नौथर शेरादेखि ३ घण्टामै पैदल दाम्राङ पुग्छन् । यो सडकका लागि धनञ्जय दवाडी प्रदेश सांसद हुँदा २५ लाख रुपैयाँ विनियोजन भएको थियो । अहिले प्रदेश सरकार र संघीय सरकारले यस क्षेत्रको पूर्वाधारका लागि बजेट नै छ्ट्याएन ।

गुरुङ भाषामा दाम्राङलाई ‘ताम्रा’, ‘दाम्रा’, ‘ताम्राङ’ आदि नामले चिनिन्छ । गुरुङ भाषामा ‘रा’ अर्थात् ‘ह्रा’को अर्थ पोखरी भन्ने हुन्छ । दामे अर्थात् तामे भन्ने गोठाला यो पोखरीमा डुबेर निधन भएकाले यसको नाम तामेरा अर्थात् दामेरा भनिएको र पछि अपभ्रंश भएर दाम्रा वा ताम्रा हुँदै दाम्राङ हुन पुगेको किंवदन्ती छ ।

यो पोखरी पुग्न डुम्रे–बेंसीसहर सडकमा पर्ने लमजुङको भोटेओडार वा उदिपुरबाट करिब २० मिनेटको सवारी यात्रापछि दोर्दी गाउँपालिकाको केन्द्र नौथर पुगिन्छ ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully