८७ मोटरसाइकल नियन्त्रणमा, २२ जना मोटरसाइकल चालकलाई अभद्र व्यवहारको मुद्दा ।
What you should know
पोखरा — स्वरूप बदलेर चर्को आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिन कास्की प्रहरीले ‘अपरेसन ३६५’ अभियान सुरु गरेको छ । ध्वनि प्रदूषण हुने गरी मोटरसाइकलको साइलेन्सर पड्काएको जनगुनासो बढेपछि प्रहरीले २७ असोजदेखि उक्त अभियान सुरु गरेको हो ।
‘जेन–जी’ आन्दोलनपछि लेकसाइडसहित सहरी क्षेत्रमा दिन रात मोटरसाइकलको साइलेन्सर पड्काउँदा ध्वनि प्रदूषण भएको र सर्वसाधारण पनि आतंकित भएको कास्की प्रहरीको भनाइ छ । उक्त अभियानअन्तर्गत बुधबारसम्म स्वरूप बदलिएका ८७ मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
मोटरसाइकल नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग वादविवाद, झैझगडा गर्ने २२ जना मोटरसाइकल चालकलाई अभद्र व्यवहारको मुद्दामा हिरासतमा राखिएको छ । १६ जना चालकलाई सम्झाइबुझाइ गरी छाडिएको छ । स्वरूप बदलिएका मोटरसाइकललाई पुरानै स्वरूपमा ल्याएर चालकलाई जरिवाना गरिएको छ । कास्की प्रहरी प्रमुख नवीन कार्कीले ‘जेन–जी’ आन्दोलनपछि मोटरसाइकलको साइलेन्सर पड्काएर ध्वनि प्रदूषण गर्नेमा लागूऔषध दुर्व्यसनीसमेत रहेको बताए ।
‘मोटरसाइकलको स्वरूप परिवर्तन गराई विशेष गरी रातको समयमा ठूलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने, समाजलाई आतंकित पार्ने, शान्ति सुव्यवस्था खलल पार्ने खालका गतिविधि बढिरहेको भन्ने व्यापक जनगुनासो आयो,’ उनले भने, ‘आन्दोलनअघि यस्तो गतिविधि केही मत्थर थियो, आन्दोलनपछि व्यापकता पाएको देखिन्छ ।’ त्यस्ता मोटरसाइकलन नियन्त्रणमा लिन खोज्दा प्रहरीसँगै झैझगडा गर्ने, मोटरसाइकल बुझाउन नखोज्ने चालकलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी हिरासतमा राखिएको उनले बताए ।
उनका अनुसार ‘अपरेसन ३६५’ निरन्तर रूपमा सञ्चालन हुनेछ । जिल्ला प्रहरी कार्यालय कास्कीले विज्ञप्ति जारी गर्दै सवारी साधनधनीले आफ्नो सवारीसाधन मोडिफाइ नगरी पूर्ववत् असली स्वरूपमा चलाउन र ‘मोडिफाइ’ गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप, रिकन्डिसन हाउस सञ्चालकलाई समेत उक्त कार्य नगर्न नगराउन अनुरोध गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सवारी साधनको मोडिफाइ गरी चलाएको पाइएमा सवारीसाधनधनी र ऊक्त कार्यमा संलग्न व्यत्तिलाई कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत अनुरोध गरिन्छ ।’
