१ सय ३४ जनाको आँखा परीक्षण गर्दा ८७ जनामा समस्या ।
परासी — पूर्वी नवलपरासीको कावासोतीमा १ सय ३४ जनाको आँखा परीक्षण गर्दा ८७ जनामा समस्या देखा परेको छ । नियमित रूपमा आँखा परीक्षण नगर्ने र समस्या परेपछि मात्रै स्वास्थ्य संस्थामा जाने गर्दा आँखासम्बन्धी समस्या बढ्दो रहेको भेटिएको हो ।
कावासोती नगरपालिका र तीलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा रोटरी क्लब अफ कावासोतीले अग्यौली स्वास्थ्य चौकीमा आयोजना गरेको शिविरमा आँखा जाँच गर्दा यस्तो समस्या भेटिएको दृष्टि विशेषज्ञ प्रदीप भट्टराईले बताए ।
क्लबका सेवा परियोजना प्रमुख शिवलाल गिरीको अध्यक्षता सम्पन्न शिविरमा ८७ जनामा दृष्टि दोष रहेको र २२ जनामा अप्रेसन गर्नुपर्ने मोतिबिन्दु भेटिएको रोटरी क्लब अफ कावासोतीका पूर्वअध्यक्ष हरिहर अधिकारीले बताए ।
मोतियाबिन्दु भेटिएका बिरामीको कार्तिक १० गते मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा तीलगंगा अस्पतालका चिकित्सकद्वारा नि:शुल्क शल्यक्रिया गरिनेछ ।
