कास्की कारागारबाट फरार भएका ९ जना, काठमाडौंका विभिन्न कारागारबाट फरार भएका ४ जना, तनहुँ कारागारबाट फरार भएका १ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गोरखा — भदौ २४ को प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका १४ जना कैदीबन्दी गोरखामा पक्राउ परेका छन् । कास्की कारागारबाट फरार भएका ९ जना, काठमाडौंका विभिन्न कारागारबाट फरार भएका ४ जना, तनहुँ कारागारबाट फरार भएका १ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तनहुँ कारागारबाट फरार भएका सिरानचोक–२ का विशाल उपरकोटी, कास्की कारागारबाट फरार चुमनुव्री–६ का सोनाम दोर्जे लामा, तेन्जिङ लामा, छेवाङ लामा, सोनाम ग्याल्जेल लामा, सिरानचोक–५ का विक्रम नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भरत विकले बताए ।
कास्की कारागारबाट फरार पालुङटार–१ का बमबहादुर श्रेष्ठ, राइनस नगरपालिका–८ लमजुङका बाबुरा नेपाली, भिमसेन थापा गाउँपालिका–१ का राजेश विश्वस सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय कारागारबाट फरार धनकुटाका छथरजोरपाटी–२ का सुमन सुनदास, धादिङको धुनवेशी–२ का भुवन तामाङ,बाल सुधार गृह सराङकोट कास्कीबाट फरार पालुङटार–६ का सामुयल नेपाली बाल सुधार गृह सानोथिमि भक्तपुरबाट फरार गोरखा–९ का सुष्मा मग्रातीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई सम्बन्धित कारागार प्रशासनसँग समन्वय गरी पठाइएको पनि प्रहरीले जनाएको छ ।
