लमजुङ कारागारको पर्खाल भत्किएपछि कास्की र तनहुँ स्थानान्तरण गरिएका सबै जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते भागेका थिए ।
लमजुङ — लमजुङ जिल्ला कारागारको पर्खाल भत्किएपछि स्थानान्तरण गरिएका कैदी र थुनुवामध्ये जेन-जी आन्दोलनका क्रममा भागेकाहरु अझै २९ जना फरार छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कास्की कारागारबाट भागेका २६ जना र तनहुँ कारागारबाट भागेका ३ जना अझै सम्पर्कविहीन छन् ।
गत साउन ३ गते लमजुङ कारागारको पर्खाल भत्किएपछि ७८ जनालाई कास्की र ३० जनालाई तनहुँ स्थानान्तरण गरिएको थियो । स्थानान्तरण गरिएका सबै जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते भागेका थिए ।
भागेकामध्ये लमजुङबाट ४२ जनालाई पक्राउ गरी सम्बन्धित जिल्ला कारागार पठाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रेशम बोहराले बताए ।
‘फरार भएकामध्ये केही अदालतको आदेशमा थुनामुक्त भएका छन् । धेरैजना कैदी र थुनुवालाई प्रहरीले विभिन्न जिल्लाबाट पक्राउ गरी कारागारमा बुझाएका छन्,’ उनले भने । केही भने आफैं कारागार फर्किइरहेका छन् । फरार रहेकाहरुको खोजीकार्य भइरहेको उनले बताए ।
