मणिपालपछि गण्डकी मेडिकल कलेजका नर्स पनि आन्दोलित

माग पूरा नभए बुधबारदेखि पूर्ण रुपमा पेनडाउन गर्ने चेतावनी

आश्विन २७, २०८२

अनुप पौडेल

After Manipal, nurses of Gandaki Medical College are also protesting

What you should know

कास्की — पारिश्रमिक वृद्धिको माग गर्दै पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी)का नर्सले आन्दोलन थालेका छन् । पछिल्लो ४ दिनदेखि मणिपाल शिक्षण अस्पतालका नर्सले गरिरहेको आन्दोलन अर्को ठूलो निजी मेडिकल कलेज जीएमसीमा पनि सोमबार साँझदेखि सुरू भएको हो । 

दिनभर आफ्ना माग सुनाउन नर्सहरुको समूह अस्पताल प्रशासन र मेडिकल सुपरीटेन्डेन्टकहाँ पुगेका थिए । तर, माग पूर्णरुपमा पूरा गर्न सम्भव नरहेको जवाफ पाएपछि उनीहरु साँझदेखि आन्दोलित बनेका हुन् । 

नर्सहरुले साँझ एक घण्टा प्लेकार्डसहित अस्पतालको प्रयोगशालाअघि भूइँमा बसेर नाराबाजी गरे । उनीहरुले ‘श्रम शोषण बन्द गर्’, ‘नेपाल सरकार न्याय दे’लगायत नारा लगाए । ‘हामी मेसिन होइनौं’, ‘नो नर्स, नो हेल्थ केयर’, ‘हामीलाई न्याय चाहियो’, ‘नर्सिङ पेसा बचाऔं’लगायत नारा लेखिएका प्लेकार्ड उनीहरुको साथमा थियो । 

नर्सहरुले केही वार्डको सेवा सोमबार साँझदेखि आंशिक रुपमा ठप्प पारेका छन् । बुधबार दिउँसो १ बजेसम्म माग पूरा नभए पूर्ण रुपमा पेनडाउन गर्ने एक नर्सले बताइन् । ‘अर्थो वार्ड, गाइनो, एचसीयूमा हामीले अहिल्यैदेखि पेनडाउन गरिसक्यौं,’ ती नर्सले भनिन्, ‘हाम्रो माग बुधबार दिउँसोसम्म पूरा नभए आईसीयू, सीसीयू, एनआइसीयू, डायलासिस, इमर्जेन्सीमा पनि पेनडाउन गर्छौं ।’

जीएमसीमा करिब साढे ३ सय नर्स कार्यरत छन् । सरकारले ०८१ मंसिर २७ मा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा–सुविधा सरकारीसरह नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो । 

पोखराका दुई ठूला अस्पतालका नर्स यही प्रमुख मागसहित आन्दोलनमा उत्रिएका हुन् । दुवै अस्पतालका सञ्चालक हालभन्दा पारिश्रमिक केही थप गर्न तयार रहे पनि सरकारीसरह दिन सम्भव नरहेको बताइरहेका छन् ।

अनुप

Link copied successfully