जेन-जी आन्दोलनका सहिद परिवारलाई राहत वितरण

आइतबार पालुङटार नगरपालिका–३ का अनिष पराजुलीका परिवारलाई राहत रकम उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।

आश्विन २६, २०८२

हरिराम उप्रेती

Distribution of relief to the families of the martyrs of the Zen-ji movement

गोरखा — भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको क्रममा निधन भएका तीन जना सहिदका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले १५ लाख रुपैयाँका दरले राहत रकम वितरण गरेको हो ।

आइतबार पालुङटार नगरपालिका–३ का अनिष पराजुलीका परिवारलाई राहत रकम उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए । 

अनिषकी श्रीमती मञ्जु पौडेललाई राहत रकम हस्तान्तरण गरिएको हो । मन्त्रालयको निर्देशनअनुसार आर्थिक सहायताको १० लाख र काजकिरिया तथा यातायात खर्चबापत ५ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

आन्दोलनको क्रममा पराजुलीसहित गोरखाका चार जनाको निधन भएको छ । बारपाक सुलिकोट गाउँपालिका–५ का विमलबाबु भट्ट र गण्डकी गाउँपालिका–४ का अर्जुन भट्टका परिवारलाई पनि राहत रकम वितरण भइसकेको उनले बताए । 

सिरानचोक गाउँपालिका–२ का सरोज गुरुङका परिवारलाई भने राहत रकम वितरण गर्न बाँकी रहेको उनले बताए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully