लमजुङको दोर्दीमा ‘मेमे पोखरी कल्चरल ट्रेल’

दोर्दी गाउँपालिका-७ मा पर्ने मेमे पोखरी राजधानी काठमाडौंबाट १ दिनको मोटरयात्रा र ३ दिनको पैदलयात्रापछि पुगिन्छ । यो ट्रेलको यात्रा गर्न पूरै १० दिन लाग्छ ।

आश्विन २३, २०८२

आश गुरुङ

”Meme Pokhari Cultural Trail” in Lamjung's Dordi

What you should know

लमजुङ — हिमालचुली र मनास्लु हिमालको काखमा रहेको पर्यटकीय मेमे पोखरी (४,४५६ मि.) घुम्ने गरी पहिचान गरिएको ‘मेमे पोखरी कल्चरल ट्रेल’ सञ्चालनमा ल्याइएको छ ।

दोर्दी गाउँपालिका-७ मा पर्ने मेमे पोखरी राजधानी काठमाडौंबाट १ दिनको मोटरयात्रा र ३ दिनको पैदलयात्रापछि पुगिन्छ । यो ट्रेलको यात्रा गर्न पूरै १० दिन लाग्छ ।

दोर्दी गाउँपालिकाले गाउँ र गोठमा रहेको संस्कृति प्रवर्द्धन गर्दै ‘मेमे पोखरी कल्चरल ट्रेल’ प्रवर्द्धन थालेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । उनका अनुसार दोर्दी ग्रामीण पर्यटन प्रवर्द्धन समिति गठन गरेर पर्यटन प्रवर्द्धनकार्य अघि बढाइएको छ । समितिले ‘मेमे पोखरी कल्चरल ट्रेल’का लागि १० दिने प्याकेज बनाएको छ ।

दोर्दीको शीरमा रहेको मेमे पोखरी पुग्न पहिलो दिन काठमाडौंबाट दोर्दी गाउँपालिका केन्द्र नौथर शेरा वा त्यसपछि हिलेबेंसी क्षेत्रसम्मको करिब १ सय ८० किलोमिटर सवारी यात्रा गर्नुपर्छ । त्यसपछि करिब डेढ घण्टाको पैदलपछि खिन्चोक पुगिन्छ । पदयात्राका लागि औपचारिक रुपमा आएका ३६ जना पर्यटकसहित सहयोगीसमेत गरेर ६० जनाभन्दा बढी सामेल टोलीलाई गाउँपालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष विच्छबहादुर घले, वडा नं. ८ का वडाध्यक्ष नारान घले, कार्यपालिका सदस्य लालमाया मिजार, पर्यटन प्रवर्द्धन समिति, आमा समूह, यूवा समूहसहितको टीमले बुधबार साँझ हिलेबेंसीमा  टीका र फूलमाला लगाइदिएर स्वागत गर्‍यो । उनीहरु बिहीबार बिहान खिन्चोकबाट करिब ८ घण्टाको पैदल यात्रापछि बाह्रपोखरी (३,०८० मि.) पुगेका छन् ।

बाह्रपोखरीबाट तेस्रो दिन करिब ८ घण्टाको पैदलयात्रापछि कोम्रो डाँडा (४,००० मि.) पुगिन्छ । चौथो दिन उक्त क्षेत्रमा अनुकूलताका लागि विश्राम लिइन्छ । पाँचौ दिन कोम्रोडाँडाबाट करिब ७ घण्टाको पैदलपछि मेमे पोखरी पुगिन्छ । छैटौं दिन मेमे पोखरी घुमिन्छ ।

”Meme Pokhari Cultural Trail” in Lamjung's Dordi

सातौं दिन मेमे पोखरीबाट फर्किएर करिब ६ घण्टाको यात्रापछि पौलीडाँडा (२५८५ मि.) पुगिन्छ । पौलीडाँडाबाट आठौं दिन करिब ५ घण्टाको यात्रापछि खुरुखर्क (३,११० मि.) पुगिन्छ । खुरुखर्कबाट नवौं दिन करिब ९ घण्टाको यात्रामा तोब्रोस्यो झरना हेर्दै खिन्चोक आइपुग्छ । खिन्चोकबाट दसौं दिन करिब ८ घण्टा सवारी यात्रामा काठमाडौं पुगिन्छ । पर्यटकलाई नवौं दिन दुवार–हिलेटक्सार माझगाउँ पुग्ने पदमार्गको पनि पहिचान गरिएको छ ।

गाउँपालिका अध्यक्ष अधिकारीले ‘मेमे पोखरी कल्चरल ट्रेल’मा प्राकृतिक दृश्यावकलोकन साथै भेडीगोठ, भैंसीगोठसँगै मौसममा लालीगुराँससँगै रमाउन सकिने बताए । यी क्षेत्रमा प्राकृतिक फूलहरु, जडिबुटी, वन्यजन्तुहरु प्रशस्तै देखिन्छन् । ‘धेरै पदमार्गहरु खोलाखोलै जाने र डाँडामा गएर हेर्ने हुन्छ । यहाँ डाँडाडाँडै पोखरी पुगिन्छ । डाँडाडाँडै फर्कियो । दुवैतर्फबाट मनमोहक दृश्य देखिन्छ,’ उनले भने । 

उनले जापान, मलेसिया, चाइना, थाइल्यान्डका ट्रेकिङ रुटमा पुगेको र सबैभन्दा प्राकृतिक मनोरम दृश्य आफ्नै गाउँपालिकामा देखेको अनुभव सुनाए । ‘म विदेशमा राम्रो ठाउँ खोज्दै हिँडे, अहिले आफ्नै गाउँमा यति राम्रो ठाउँ रहेछ, यहाँको नेतृत्वमा आएपछि बल्ल थाहा पाएको छु,’ उनले भने ।

गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेका अनुसार मेमे पोखरीको काखमा घले, गुरुङ, तामाङ, मगर, ब्राम्हण क्षेत्रीलगायतका जातजाति बसोबास छन् । यी गाउँहरुमा स्थानीय लोपोन्मुख संस्कृति हेर्न सकिन्छ । ‘यो पदमार्गको प्रस्थानविन्दू खिन्चोकमा होमस्टे छ । दुवार र माझगाउँ क्षेत्रमा पनि होमस्टे छन् । मेमे पोखरीसहित बास बस्ने ठाउँठाउँमा धर्मशाला निर्माण गरिएका छन्,’ उनले भने । उनका अनुसार पदमार्गको ठाउँठाउँमा बास बस्ने व्यवस्था छ । खानेपानीको व्यवस्था छ । ‘अहिलेका लागि ‘क्याम्पिङ’ गरेर जाँदा राम्रो हुन्छ,’ उनले भने, ‘हामी पूर्वाधार निर्माणमा पनि जुटेका छौं ।’

”Meme Pokhari Cultural Trail” in Lamjung's Dordi

पर्यटन प्रवर्द्धन समिति अध्यक्ष कन्यनाल घलेले जनै पूर्णिमाको दिन मेला लाग्ने मेमे पोखरीमा बाह्रैमहिना पर्यटक भित्र्याउन चाहेको बताए । यस क्षेत्रमा बाह्रै महिना पर्यटकको चहलपहल बढाउने उद्देश्यले ‘मेमे पोखरी कल्चरल ट्रेल’को विकास गरिएको बताए । ‘पर्यटनको माध्यमबाट गाउँमै रोजगारीको वातावरण बनाउँदैछौं,’ उनले भने ।

दोर्दी ग्रामीण पर्यटन प्रवर्द्धन समितिका सल्लाहकारसमेत रहेका पदयात्राका टीम लिडर इन्सुहाङ राईले स्वदेशी तथा विदेशी दुवैखाले पर्यटकका लागि ‘मेमे पोखरी कल्चरल ट्रेल’ अतुलनीय उपहार भएको दाबी गरे । ‘यहाँको प्रकृति, संस्कृति र गाउँलेको आत्मीयताले सबैलाई मुग्ध बनाउँछ । पर्यटकका लागि यो पदमार्ग थप आकर्षक छ,’ उनले भने ।

दोर्दीको माथिल्लो क्षेत्रका पदमार्ग घुम्न लमजुङको मर्स्याङ्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकाबाट पनि आउजाउ गर्न सकिन्छ । यस्तै, गोरखाको अजिरकोट र बारपाक सुलिकोटबाट पनि आउजाउ गर्न सकिन्छ । 

दोर्दीसहित ५ वटै गाउँपालिकाको समन्वयमा यस क्षेत्रको माथिल्लो क्षेत्रको पदमार्ग पहिचान गरी ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)ले पदमार्गको डीपीआर र म्याप निर्माण गरिसकेको छ ।   

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully