दिउँसो एक बजेका लागि पोखराको मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको हो ।
What you should know
कास्की — दलहरूले जेन-जी आन्दोलनका कारण सिर्जना भएको परिस्थिति हालसम्म शान्त भइनसकेको कारण देखाएपछि गण्डकी प्रदेशसभाको बुधबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ । दिउँसो एक बजेका लागि पोखराको मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको हो ।
विशेष कारणवश अर्को सूचना नभएसम्म बैठक स्थगित गरिएको प्रदेश सभा सचिव गोविन्द पौडेलले जारी गरेको सूचनापत्रमा उल्लेख छ । प्रत्यक्ष प्रसारणका लागि प्राविधिक तयारी नसकिएकाले बैठक स्थगित गरिएको सचिव पौडेलले बताए ।
सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य सबैको आसनका लागि टेबल–कुर्सी व्यवस्थापन गरिएको थियो । साउन्ड सिस्टम पनि भाडामा चलाउने तयारी सचिवालयको थियो । तर, मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस, एमाले र माओवादीले परिस्थितिअनुकूल नभएकाले तत्काल संसद् बैठक चलाउनु उचित नहुने सुझाव सभामुखलाई दिए ।
बाह्य वातावरणको कुरा उठेको र प्राविधिक तयारी नपुगेकाले बैठक स्थगित गर्नुपरेको सभामुख कृष्णप्रसाद धितालले बताए । ‘अरु प्रदेशले पनि गरेका छैनन् । माथि के–के गतिविधि गर्ने भन्ने आइरहेको छ,’ उनले भने, ‘वातावरणको कुरा सान्दर्भिक पनि भयो । त्योभन्दा पनि हाम्रो आन्तरिक तयारी पुगेन ।’ सभामुख धितालले पोखरामा तत्काल कुनै सुरक्षा थ्रेट नरहेकाले बैठक चलाउनुपर्ने मनशायमा थिए ।
प्रदेशसभाको बैठक भदौ २५ गते दिउँसो १ बजे बोलाइएको थियो । तर, भदौ २४ मा आन्दोलन चर्किएपछि भोलिपल्ट बस्ने भनिएको बैठक अनिश्चितकाललाई स्थगित भयो । असोज २२ मा बैठक बस्ने गरी सचिवालयले सूचना निकाल्यो ।
नयाँ ठाउँमा बैठकका लागि सबै व्यवस्थापन गर्न समय नपुगेपछि बुधबारको बैठक पनि स्थगित भयो । अब तिहारअघि प्रदेश सभा बैठक बस्ने सम्भावना निकै कम छ । असोज २६ मा कांग्रेस र असोज २७ देखि २७ मा एमाले केन्द्रीय समिति बैठक बस्ने तयारी रहेकाले संसद् बैठक तिहारअघि बस्ने देखिँदैन ।
चालु बर्खे अधिवेशनमा गाँजासम्बन्धी विधेयक, गण्डकी विश्वविद्यालय ऐन संशोधन विधेयकलाई सम्बन्धित समितिमा छलफलका लागि पठाउने तयारी थियो । दुई विधेयक समितिमा पठाउने र खानी तथा खनिजसम्बन्धी विधेयक संसद्बाट पारित गरेर अधिवेशन अन्त्य गर्ने योजनामा सभामुख थिए । अब तिहारपछि बैठक गर्ने वा चालु अधिवेशन अन्त्य गर्ने भन्नेमा सभामुख र दलबीच छलफल भएको छैन ।
