कास्कीका ४ सय ६८ कैदीबन्दी फर्किए

कारागार कार्यालय कास्कीले नफर्कने कैदीबन्दी र उनीहरुलाई लुकाउनेलाई पनि कारबाही गर्ने सोमबार सूचनामार्फत चेतावनी दिएको छ ।

आश्विन २०, २०८२

अनुप पौडेल

468 prisoners of Kaski returned

What you should know

कास्की — भदौ २४ को आगजनी र तोडफोडपछि कास्की कारागारबाट फरार भएका ४ सय ६८ कैदीबन्दी फर्किएका छन् । फरार भएकामध्ये सोमबार साँझ ५ बजेसम्म ४ सय ६८ जना फर्किएको कारागार प्रमुख राजेन्द्र शर्माले बताए ।

भदौ २४ मा कारागारबाट ७ सय ७३ जना फरार भएका थिए । अझै ३ सय ५ जना फर्कन बाँकी छ । ‘हामीले आजसम्म आउनेलाई राख्ने भनेर सूचना निकालेका थियौं । आउने क्रम अझै जारी छ । राति आउनेलाई पनि राख्छौं,’ उनले भने । 

कारागार कार्यालयले फरार कैदीबन्दीलाई असोज २० गतेसम्म फर्कन भनी असोज १२ मा सूचना निकालेको थियो । कारागार कार्यालय कास्कीले नफर्कने कैदीबन्दी र उनीहरुलाई लुकाउनेलाई पनि कारबाही गर्ने सोमबार सूचनामार्फत चेतावनी दिएको छ । 

नफर्कने कैदीबन्दी, लुकाउने, छिपाउने र आश्रय दिनेलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुनबमोजिम कारबाही गर्ने कार्यालयको सूचनामा उल्लेख छ । भागेका कैदीबन्दीसम्बन्धी सूचना सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल, जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेत वा कारागार प्रशासक राजेन्द्र शर्मालाई दिन कारागार कार्यालय कास्कीले आग्रह गरेको छ । 

कारागारको प्रशासनिक अभिलेख जलेपनि कैदी गृह जोगिएकाले फर्कनेलाई राख्न समस्या नरहेको प्रमुख शर्माले बताए । ‘कैदीबन्दीको रेकर्ड अनलाइन भएको भएर सजिलो भयो । हाम्रो प्रशासनिक फाइल, कम्प्युटर जलेका छन्, चोरी भएका छन् । बन्दी गृहमा आगो फैलन नदिएको भएर जोगियो,’ उनले भने । 

कारागार ऐन २०७९ को दफा ४९ को उपदफा १ को खण्ड (ख) ले कारागारबाट भागेमा ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । कसैले बन्दीलाई भगाएमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था दफा ४९ को उपदफा २ मा उल्लेख छ । यी दुवै प्रकारका कसुरको मुद्दा सरकारवादी हुने, कारबाही तथा अनुसन्धान कारागार प्रशासक वा कारागार कार्यालयका कर्मचारीको प्रतिवेदनको आधारमा गर्नुपर्ने व्यवस्था दफा ५० को उपदफा २ ले गरेको छ । 

अनुप

Link copied successfully