डुम्रे–बेंसीसहर–चामे सडक सञ्चालनमा

लामो दूरीका लागि बेंसीसहरबाट काठमाडौं, चितवन, पोखरातर्फ सवारी साधन यात्रु बोकेर आवतजावत भइरहेको लमजुङ जिल्ला प्रहरी प्रमुख डिएसपी रेशम बोहराले बताए ।

आश्विन १९, २०८२

आश गुरुङ

Dumre-Bensisahar-Chame road in operation

What you should know

लमजुङ — बाढीपहिरोको डरले सोमबारसम्मका लागि सूचना जारी गरेर बन्द गरिएको ३ जिल्ला जोड्ने डुम्रे–बेंसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको डुम्रेदेखि लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामेसम्मको सडक सञ्चालनमा आएको हो ।

सञ्चालनमा आएसँगै आइतबारदेखि ती सडकमा सवारी साधन आवातजावत हुन थालेका छन् । लामो दुरीका लागि बेंसीसहरबाट काठमाडौं, चितवन, पोखरातर्फ सवारी साधन यात्रु बोकेर आवतजावत भइरहेको लमजुङ जिल्ला प्रहरी प्रमुख डिएसपी रेशम बोहराले बताए ।

उनका अनुसार बेंसीसहरबाट काठमाडौं, चितवन, पोखराका लागि डुम्रेतर्फ र मनाङका लागि चामेतर्फ सवारी निर्वाध रुपमा सञ्चालन भइरहेको छ ।

भारी वर्षाको सम्भावना रहेको भन्दै प्रशासनले शनिबार सार्वजनिक सूचना जारी गरी असोज १८, १९ र २० गतेसम्म जिल्ला भित्रने र बाहिरिने सवारी साधनको आवतजावत बन्द गरेको थियो ।

डिएसपी बोहराले काठमाडौं, चितवन, पोखराबाट सवारी साधन लमजुङ भित्रिएको र लमजुङबाट पनि त्यसतर्फ गएको बताए ।

मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले मनाङबाट लमजुङतर्फ र लमजुङबाट मनाङ सवारी आवागमन सुरु भएको बताए । 

उनले दिउँसोको लागि सवारी आवागमन भए पनि रातको समय रोक लगाउने यसअघिको निर्णय कायमै रहेको बताए । ‘दिउँसो बाढी पहिरोको डर खासै भएन, मौसम राम्रो हुँदै गयो । रातको समय साँघुरो सडक, चिप्लो सडकमा समस्या हुन सक्छ, माथिबाट ढुंगा खस्न सक्छ, त्यसैले अहिले रातको समय सडक खोल्दैनौं’ उनले भने ।

काठमाडौं, पोखरा र चितवनतर्फका सवारी साधनहरु शनिबार चलेका थिएनन् । आइतबार विहानदेखि काठमाडौं, पोखरा र चितवनतर्फ सवारी साधनहरु यात्रु बोकेर गुड्न थालेको र उक्त ठाउ“बाट पनि लमजुङतर्फ सवारी साधन चल्न थालेको व्यवसायीहरुले बताएका छन् ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully