बेंसीसहर–चामे सडकमा तीन दिन यातायात सञ्चालनमा रोक

लगातारको वर्षा र थप वर्षाको पूर्वानुमानका कारण जिल्ला प्रशासन कार्यालय मनाङले असोज १८ देखि २० गतेसम्मका लागि सडक बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

आश्विन १८, २०८२

आश गुरुङ

Suspension of traffic operation on Bensi Sahar-Chame road for three days

लमजुङ — जिल्ला प्रशासन कार्यालय मनाङले बेंसीसहर–चामे सडकमा तीन दिनका लागि सवारी आवागमन बन्द गरेको छ । यो सडक हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र यातायात मार्ग हो ।

लगातारको वर्षा र थप वर्षाको पूर्वानुमानका कारण जिल्ला प्रशासन कार्यालय मनाङले असोज १८ देखि २० गतेसम्मका लागि सडक बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले सुरक्षाका दृष्टिले चामे–बेंसीसहर सडकखण्डमा सवारी आवागमन बन्द गरिएको हो ।

‘वर्षा तीव्र हुने संकेत देखिएकाले सडक जोखिमपूर्ण बन्न सक्ने हुँदा तीन दिनका लागि सम्पूर्ण सवारी सञ्चालन रोक्ने निर्णय गरेका हौं,’ प्रजिअ पौड्यालले भने, ‘अत्यावश्यक बाहेकका यात्रा नगर्न र घरमै सुरक्षित बस्न सबैमा अनुरोध गर्दछौँ ।’

यसअघि मनाङ प्रशासनले रातिको समयमा मात्र सवारी सञ्चालनमा रोक लगाएको थियो । तर, भारी वर्षा सुरु भएपछि दिनको समयमा पनि सवारी रोक्ने निर्णय गरिएको जनाएको छ ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully