कारागारबाट भागेका कैदीबन्दी कतै लुकेको जानकारी पाए प्रहरीलाई खबर गर्न आग्रह

सुरक्षाकर्मीबाट लुटिएका हातहतियार कसैले राखेको थाहा पाएमा पनि सूचना दिन आग्रह गरिएको छ ।

आश्विन १२, २०८२

हरिराम उप्रेती

If you have any information about the inmates who have escaped from the prison, please inform the police

काठमाडौँ — भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दी र थुनुवा लुकीछिपी बसेको भेटिए प्रहरीलाई खबर गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।

कारागारबाट भागेका कैदीबन्दी र थुनुवाले अपराधिक गतिविधि गर्न सक्ने अवस्थालाई मध्यनजर गरेर लुकीछिपी बसेको भेटिए प्रहरीलाई खबर गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग्गत बरालले बताए । 

त्यस्तै आन्दोलनको क्रममा सुरक्षा निकायबाट हातहतियार तथा बन्दोबस्तीका सामाग्री लुटेर लुकाइछिपाई राखेको सूचना प्राप्त भए प्रहरीलाई खबर गर्न प्रशासनले सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । आन्दोलनका क्रममा विभिन्न  कारागारबाट फरार भएका १२ जना कैदीबन्दीलाई गोरखा प्रहरीले पक्राउ गरिसकेको छ ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully