दूधपोखरीमा हराएका किशोरको शव डेढ महिनापछि फेला

शव उद्धारमा लागि शुक्रबार पोखराबाट हेलिकोप्टरमा गोताखोरसहित ४ जना सशस्त्र प्रहरी पठाइएको थियो ।

आश्विन ११, २०८२

आश गुरुङ

The body of the missing teenager in Dudhpokhari was found after a month and a half

लमजुङ — लमजुङ र मनाङको सिमानामा पर्ने दूधपोखरी कुण्ड (५,३०० मि.) मा साउन २४ गतेदेखि नुहाउने क्रममा हराएका एकजना किशोरको शव फेला परेको छ ।

लमजुङको क्व्होलासोथार गाउँपालिका-४, भुजुङका १८ वर्षीय मनोज गुरुङ जनैपूर्णिमाका दिन दूधपोखरीमा पौडी खेल्ने क्रममा हराएका थिए । उनको शव हेलिकप्टरमार्फत पुगेको गोताखोरसहित सशस्त्र प्रहरी टोलीले फेला पारेको हो ।

गाउँदेखि हिँडेर २ दिन लाग्ने दूधपोखरीमा नुहाउने जात्रामा साथीहरुसँगै गएका उनी पौडी खेल्ने क्रममा केही पर पुगेका थिए । उनीसहित ९ जना साथीहरु दूधपोखरी नुहाउने जात्रामा गएका थिए । हराएका किशोरलाई स्थानीय र प्रहरी पुगेर खोजी गरे पनि यसअघि भेटिएका थिएनन् ।

गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले गाउँपालिकाले व्यवस्थापन गरी शुक्रबार पोखराबाट एयर डाइनेस्टीको हेलिकोप्टरमा गोताखोरसहित ४ जना सशस्त्र प्रहरी पठाइएको थियो । टोलीले पोखरीबाट उद्धार गरेको शवलाई मृतकका सहोदर दाइ रेकबहादुर गुरुङले सनाखत गरेपछि कानुनी प्रक्रिया पूरा गरेर उक्त ठाउँबाट केही पर गाढेको छ ।

गोताखोरसहित पुगेको टोली हेलिकोप्टरमार्फत शनिबार पोखरा फर्किएको गाउँपालिका उपाध्यक्षसमेत रहेकी स्थानीय गमीमाया गुरुङले बताइन् । उनका अनुसार गाउँपालिकाको व्यवस्थापनमा शुक्रबार हेलिकोप्टर पठाएर फर्किएपछि पुनः शनिबार हेलिकप्टर पठाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी रेशम बोहराले घटनाबारे जानकारी पाएपछि यसअघि प्रहरी निरीक्षक अभिषेक पाण्डेको नेतृत्वमा ४ जना नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षकसहित ५ जना गरी ९ जनाको टोली अन्य ४ जना सहयोगीहरुलाई लिएर गएको थियो । उनीहरुले नभेटेपछि १ सातामा टोली फर्किएको थियो ।

‘जिल्ला सुरक्षा समितिको बैठकमार्फत शव खोजीका लागि गोताखोरसहित हेलिकप्टरमा सशस्त्र प्रहरी पठाउने र यसको व्यवस्थापन क्व्होलासोथार गाउँपालिकाले गर्ने निर्णय गर्‍यौं । शव फेला परेपछि उद्दार गरेर ल्याउन कठिन भएकाले उक्त ठाउँमै कानुनी प्रक्रिया पुर्‍याएर गाढेका छौं,’ उनले भने ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully