प्रदर्शनका क्रममा केन्द्रीय कारागारबाट भागेका तीन कैदीबन्दी स्याङ्जामा पक्राउ

स्याङ्जामा हालसम्म ५ जना कैदीबन्दी पक्राउ परेका छन् ।

आश्विन ९, २०८२

प्रतीक्षा काफ्ले

Three prisoners who escaped from the Central Jail during the protest were arrested in Syangja

काठमाडौँ — गत भदौ २४ मा भएको प्रदर्शनका क्रममा कारागार तोडफोड हुँदा फरार रहेका तीन कैदीबन्दी स्याङ्जामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–५ पौवैगौडेका ६७ वर्षीया नुनुमाया कार्की, भीरकोट नगरपालिका–५ का २८ वर्षीय विमल जिटी र पुतलीबजार नगरपालिका–९ कोल्माका २६ वर्षीय अभिषेक नेपाली रहेका छन् ।

सादा पोसाकमा खटिएको प्रहरीको टोलीले जिटीलाई बिहीबार र कार्की र नेपालीलाई बुधबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रशन्नराज चौधरीका अनुसार पक्राउ परेका कैदीबन्दीलाई जिल्ला कारागार स्याङ्जामा हाजिर गराइएको छ ।

कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तानका लागि नुनुमाया कार्की केन्द्रीय कारागार जगन्नाथदेवल काठमाडौंमा थिइन् । आन्दोलनकारीले कारागार तोडफोड गरेपछि फरार रहेकी उनी घरमा आएर बसेकी थिइन् । प्रहरीले स्थानीयको सूचनाको आधारमा पक्राउ गरिएको जनाएको छ । 

यसैगरी जिल्ला कारागार कास्कीबाट फरार रहेका विमल जिटी र अभिषेक नेपालीलाई पनि प्रहरीले घरबाट नै पक्राउ गरेको हो । विमल कर्तव्य ज्यान मुद्दा र अभिषेक जबरजस्ती करणी मुद्दामा जेल सजाय भोग्दै आएका थिए । यसअघि स्याङ्जा प्रहरीले फरार दुई कैदीबन्दीलाई पक्राउ गरेको थियो । 

आन्दोलनको क्रममा फरार रहेका कैदीमध्ये हालसम्म स्याङ्जाबाट पाँच जनालाई पक्राउ गरिएको छ ।  

प्रतीक्षा

Link copied successfully