जीपी कोइराला उपचार केन्द्रमा डायलासिस क्षमता विस्तार

जीपी कोइराला लायन्स हेमोडायलासिस युनिटमा हाल साप्ताहिक १५ जनालाई सेवा दिइएकामा बुधबारदेखि ३० जनालाई डायलासिस दिन थालिएको छ । 

आश्विन ३, २०८२

रासस

Expansion of Dialysis Capacity at GP Koirala Treatment Centre

तनहुँ — तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस क्षमतामा विस्तार गरिएको छ । जीपी कोइराला लायन्स हेमोडायलासिस युनिटमा हाल साप्ताहिक १५ जनालाई सेवा दिइएकामा बुधबारदेखि ३० जनालाई डायलासिस दिन थालिएको छ । 

मिर्गौला पीडितको माग बमोजिम डायलासिस क्षमताको विस्तार गरिएको केन्द्रका बोर्ड सदस्य त्रिलोचन लम्सालले जानकारी दिए।

उपचार केन्द्रमा सात वटा उपकरण जडान गरिएको छ । डायलासिस उपकरण लायन्स क्लब अफ नेपालले अनुदानमा उपलब्ध गराएको हो । शुक्लागण्डकीमा क्रियाशिल लायन्स क्लबहरुको प्रयासमा यहाँ डायलासिस केन्द्र सञ्चालनमा आएको हो ।

डायलासिस केन्द्रमार्फत शुक्लागण्डकी आसपासका मिर्गौलापीडित लाभान्वित भइरहेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए। यसअघि यहाँ डायलासिस सेवा नहुँदा यहाँका बिरामीले दमौली अस्पताल वा अन्यत्रै गएर डायलासिस गराउनुपर्ने बाध्यता थियो ।

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ । 

अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।

रासस

Link copied successfully