जैमिनी नगरपालिका-८ छिस्तीमा खसेको पहिरोले करिडोर पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले बताएको छ ।
बागलुङ — अविरल वर्षाले पहिरो खस्दा बागलुङमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जैमिनी नगरपालिका-८ छिस्तीमा खसेको पहिरोले करिडोर पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले बताएको छ ।
बुधबार बिहान १० बजे खसेको पहिरोले सडक अवरुद्ध भएको हो । सडक रोकिँदा सवारी साधनसहित पैदल यात्रु पनि आवतजावत गर्न पाएका छैनन् ।
पहिरो गएको थाहा पाउनासाथ प्रहरी चौकी छिस्तीदेखि प्रहरी हबल्दार यादवहादुर कार्की नेतृत्वमा गएको टोलीले सडक खुलाउने प्रयास थालेको छ । तर तत्काल खुलाउन असम्भव भएपछि प्रहरीले स्थानीय तहसँग सहकार्य गरेको थियो ।
पहिरो पन्छाउनका लागि जैमिनीको डोजरबाहेक कालीगण्डकी करिडोर आयोजनासँग समन्वय गरेर खुलाउने प्रयास भएको नगरउपप्रमुख हरिहर शर्माले जानकारी दिए । घटनास्थल प्रहरीचौकी छिस्तीदेखि १ सय मिटर उत्तरमा पर्छ । उक्त स्थान सदरमुकामदेखि ३६ किमी दक्षिणमा पर्छ ।
