आन्दोलन भड्काएर ध्वंस गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ : मुख्यमन्त्री पाण्डे

जेनजी आन्दोलनका कारण पोखरामा क्षतिग्रस्त संरचनाको मंगलबार अवलोकन गर्दै उनले निजी र सरकारी सम्पत्तिमा आगजनी–तोडफोड गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

भाद्र ३१, २०८२

अनुप पौडेल

Those who instigate and destroy the movement should be brought to justice: Chief Minister Pandey

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आन्दोलन भड्काएर ध्वंस गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् । 

जेनजी आन्दोलनका कारण पोखरामा क्षतिग्रस्त संरचनाको मंगलबार अवलोकन गर्दै उनले निजी र सरकारी सम्पत्तिमा आगजनी–तोडफोड गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । युवाले उठाएका जायज मागमा सबै तहका सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो । 

प्रदेश मातहतका भौतिक संरचना पुनर्निर्माणको विषयमा संघ सरकारले लिने नीति र प्रदेशलाई दिने बजेटअनुसार थप योजना बनाइने उनले बताए । क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा जुट्न र सकेको सहयोग गर्न उनले सर्वसाधारणलाई अपिल पनि गरे । 

पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरा, मुख्यमन्त्री निवासलगायत निरीक्षण गरेका थिए ।

भदौ २३ र भदौ २४ मा जेनजी आन्दोलन हुँदा मुख्यमन्त्री पाण्डे दुबई थिए । उनी भदौ २१ र २२ मा आयोजित अन्तर्राष्ट्रिय कास्की सम्मेलनमा भाग लिन गएका थिए । तीन दिनअघि नेपाल फर्किएका पाण्डे मंगलबार पोखरा आएका हुन् । 

अनुप

Link copied successfully