जसको चलाखीले आगजनीबाट जोगियो मन्त्रालय

गेटबाट सरकारी जिप देखेर भित्र छिर्न खोज्दै थिए प्रदर्शनकारी । मन्नुले गेटमा उभिएर ‘यहाँ होइन, तल जाने’ भनेर देखाए । त्यसपछि भीड तलतिर गयो ।

भाद्र ३१, २०८२

अनुप पौडेल

His cleverness saved the Ministry from arson

What you should know

कास्की — जेन–जी आन्दोलनको पहिलो दिन नै प्रदर्शनकारीको निसानामा थियो, गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय । यही कार्यालयको प्रांगणबाट पोखरामा जेन–जी आन्दोलनले भदौ २३ मा उग्र बनेको थियो । अघिल्लो दिन सिसा फोडिएको कार्यालयमा भोलिपल्ट प्रदर्शनकारीले आगो लगाए ।

पोखराको राष्ट्रबैंक, सहिदचोक संघ र प्रदेश सरकार मातहतका सरकारी अड्डा भएको ठाउँ हो । यहाँ मुख्यमन्त्री कार्यालय, प्रदेश सरकारका मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, कास्की कारागार, आन्तरिक राजस्व कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, संघीय सहरी विकास तथा भवन निर्माणलगायत कार्यालय छन् । यही क्षेत्रमा एउटा मन्त्रालयमा भने ढुंगा पनि प्रहार भएको छैन । 

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र त्यही कम्पाउन्डभित्र रहेको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको भवन सग्लै छन् । आसपास सबै जल्दा मन्त्रालय जोगिन कसरी सम्भव भयो ? भौतिक मन्त्री प्रकाशबहादुर केसीको सचिवालयमा कार्यरत महेन्द्र उपाध्याय (मन्नु)को चलाखीले यी दुवै संरचना जोगिएका हुन् । 

प्रदर्शनकारीले भदौ २४ मा मुख्यमन्त्री कार्यालय जलाउँदा नजिकै एउटा चिया पसलमा साथीहरूसँग बसेका थिए । त्यत्तिकैमा मुख्यमन्त्री कार्यालय जलेको खबर उनको कानमा पर्‍यो । उनी त्यहाँबाट हतारहतार निस्किए । मन्त्रालयको गेटमा पुग्दा प्रदर्शनकारी मुख्यमन्त्री कार्यालय तोडफोड र आगजनीमा थिए । ‘अब मन्त्रालयमा पनि आगो लगाउँछन् होला । गएर ल्यापटप झिक्छु भनेर गएको थिएँ । त्यसमा मेरो व्यक्तिगत, मन्त्रालय र मन्त्रीज्यूका फाइल थिए,’ मन्नुले सुनाए, ‘मन्त्रालयको गेट र मूल ढोका बन्द रहेछ । चाबी नभएपछि ल्यापटप झिक्न पाइनँ ।’ 

उनी भौतिक मन्त्रालयको गेटमा बसेर माथिपट्टि मुख्यमन्त्री कार्यालय जलेको हेरिरहे । यत्तिकैमा ४/५ जना प्रदर्शनकारीले मन्त्रालयको सुरक्षा पोस्टमा ढुंगा हान्न थाले । त्यहाँको सीसा फुट्यो । भित्रपट्टि मन्त्रालय मातहतको सहरी विकास तथा भवन कार्यालय कास्कीको जिप थियो । त्यो देखेपछि एक जना प्रदर्शनकारीले भने, ‘ऊ त्यहाँ सरकारी जिप छ । जाम् जाम् ।’ 

गेटबाट मन्त्रालय र भवन कार्यालयको बोर्ड स्पष्ट देखिँदैन । अगाडिपट्टि रहेको चौतारी र बोटबिरुवाले मन्त्रालयको बोर्ड छेकिन्छ । गेटबाट भित्र हेर्दा बोलेरो जिप देखिन्थ्यो । त्यो जिप मंगलबार साँझ पनि त्यहीँ थियो । घटनाको दिन सबै गाडी छोडेर कर्मचारी मन्त्रालयबाट दिउँसै निस्किसकेका थिए । त्यहाँका पाँचवटा गाडी मन्त्रालयका चालकले प्रदर्शनकारी आउनुअघि नै छेउको प्रदेश प्रहरी कार्यालय परिसरमा लगेर राखेका थिए । अर्का चालकले चाबी आफूसँगै लगेकाले एउटा जिप मन्त्रालयमै थियो ।

प्रदर्शनकारीले जिप देखेर भित्र छिर्न खोज्दा महेन्द्र गेटमै थिए । उनी दोधारमा परे । यत्तिकैमा उनले गेटमा उभिएर भने, ‘यहाँ होइन, उता तल जाने भनेर अरु गइसके । तल जाने भनेछन् ।’ यो सुनेपछि मन्त्रालय छिर्न खोजेका युवा तलतिर लागे । भीड पनि उनीहरूको पछिपछि लाग्यो । 

प्रदर्शनकारी मन्त्रालयभित्र छिर्न खोज्दा पोखराकी पत्रकार बिना थापा नजिकै थिइन् । ढुंगा हान्दै ३/४ जना केटाहरू आउँदा महेन्द्रले गेटमा उभिएर तलतिर देखाएको उनले सुनाइन् । ‘लाहुरे भर्ती हुनेजस्तै ३/४ जना केटाहरू थिए । वन मन्त्रालयमा आगो लगाएपछि तल जाने भन्दै आएका थिए,’ उनले भनिन्, ‘त्यो भाइले अरु उता तलतिर गइसके, तल जाने भने भनेर देखाएपछि उनीहरू गए । पछि फर्किएनन् ।’ 

कुनै योजनाबिनै तत्कालै फुरेको जुक्तिले प्रदर्शनकारी भित्र छिर्न नपाएकाले मन्त्रालय जोगिएको महेन्द्रले सुनाए । एउटा मन्त्रालय जोगिए पनि सरकारी संरचना ध्वस्त भएको देख्दा उनी दुःखी छन् । ‘उनीहरू गेटभित्र छिर्न पाएको भए मन्त्रालय र कार्यालय लेखेको पनि देख्थे । गेटमा रोक्न सफल भएर यसमा क्षति पुगेन,’ मन्त्रालय प्रांगणमा उभिँदै उनले सुनाए, ‘एउटा मन्त्रालय जोगिएर के गर्नु ? महत्त्वपूर्ण अरु कार्यालयको अवस्था हेर्दा मन अमिलो भएको छ ।’

मन्त्री, सचिव, मन्त्रालयका अरु कर्मचारी पनि यत्रो आन्दोलनमा मन्त्रालय जोगियो भन्नेमा अचम्मित छन् । मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदी सडकबाट भित्रपट्टि भएको र सजिलै नदेखिने भएकाले जोगिएको हुन सक्ने बताए । मन्त्रालय जोगिए पनि कास्कीमा रहेका मातहतको यातायात कार्यालय, पूर्वाधार विकास कार्यालय आगजनीबाट ध्वस्त भएका छन् । 

भदौ २४ मा मन्त्रालयभित्र मन्त्रीका पीएसओ, सवारी चालक र कार्यालय सहयोगी थिए । प्रदर्शनकारीले मन्त्रालयमा आगजनी गर्ने सम्भावना देखेपछि उनीहरू पछाडिबाट भागेर ज्यान जोगाएका थिए ।

अनुप पौडेल

Link copied successfully