मेयरको घर आगजनीमा रास्वपा कार्यकर्ता संलग्न,वडा सभापति निलम्बित

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा रास्वपा पोखरा–१० का सभापति चन्द्रबहादुर थापाले पोखराका मेयर धनराज आचार्यको घरभित्र रहेका सामान जलाएको देखिन्छ । भिडियो बाहिरिएपछि रास्वपा गण्डकी प्रदेश अनुशासन आयोगले उनलाई सोमबार निलम्बन गरेको हो ।

भाद्र ३०, २०८२

अनुप पौडेल

RSVP workers were involved in the burning of the mayor's house, the ward chairman was suspended

What you should know

कास्की — पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा आगजनी र तोडफोड गर्नेमा रास्वपा कार्यकर्ताको संलग्नता देखिएको छ । पोखरा–९ नयाँबजारस्थित मेयर आचार्यको घरमा भदौ २४ गते दिउँसो एउटा समूहले तोडफोड गरेको थियो । त्यही रात अर्को समूहले उनको घरमा आगजनी गरेको थियो ।

राति भएको आगजनीमा रास्वपा पोखरा–१० का सभापति चन्द्रबहादुर थापा संलग्न रहेको पाइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उनले मेयर आचार्यको घरभित्र रहेका सामान जलाएको देखिन्छ । भिडियो बाहिरिएपछि रास्वपा गण्डकी प्रदेश अनुशासन आयोगले थापालाई सोमबार निलम्बन गरेको हो । आयोग प्रमुख योगेन्द्र केसीले पार्टीका आचारसंहिताभन्दा बाहिर रहेर अवाञ्छित गतिविधिमा संलग्न देखिएकाले अर्को निर्णय नहुँदासम्म सबै जिम्मेवारीबाट निलम्बन गरिएको पत्र पठाएका हुन् । 

निलम्बित सभापति थापाले पनि आफ्नो कमजोरी स्वीकार गरेका छन् । पार्टीले कारबाही गरेपछि फेसबुकमा स्टाटस लेख्दै उनले उत्तेजित भीडकै कारण आफूले केही गलत गरेको हुनसक्ने बताए । 

मेयरको घरमा आफू संयोगले पुगेको,घर जलाउँदा आसपासका अरू घरलाई क्षति हुने देखेपछि भित्रको सामान बाहिर जलाउन त्यहाँ रहेकालाई सुझाव दिएको उनको भनाइ छ । त्यहाँ रहेका अन्य व्यक्तिले घरभित्रै जलाउन सक्ने देखेपछि आफूले बाहिर ल्याएर फालेको उनको दाबी छ । 

घटनामा रास्वपाको कुनै हात र निर्देशन नरहेको उनले उल्लेख गरेका छन् । आफू दोषी ठहर भए कानुनबमोजिम जुनसुकै कारबाही भोग्न तयार रहेको उनले बताएका छन् । 
nमेयर आचार्यले प्राप्त भिडियो हेर्दा घर र महानगर दुवैमा रास्वपाका व्यक्तिको संलग्न देखिएको बताए । ‘मेरो घरमा देखिने मान्छे महानगरमा पनि देखिएका छन्,’ उनले भने । घरमा परिवारका सदस्यका कागजात, पुराना तस्बिर, करिब ४ हजार पुस्तकमा क्षति पुगेको उनले सुनाए । आफू विदेश भ्रमणबाट सोमबार मात्र फर्किएकाले क्षतिबारे यकिन भइनसकेको उनले बताए । जेन–जी आन्दोलन हुनुअघि नै मेयर आचार्य अन्तर्राष्ट्रिय कास्की सम्मेलनमा सहभागी हुन दुबई गएका थिए । उनी अहिले काठमाडौंमा छन् । 

घटनापछि मेयर आचार्यले आफ्नो घर घुसपैठले ध्वस्त पारेको भनेर सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए । ३ वर्ष मेयर हुँदा अनैतिक काम नगरेको र आफूले २० वर्षअघि नै घर बनाएको उनले उल्लेख गरेका छन् । ‘म महानगर प्रमुख बनेपछि मैले कुनै आर्थिक लाभ लिएको छैन । मेरो नाममा आउने मासिक सुविधासमेत विद्यार्थी शिक्षादान र सामाजिक क्षेत्रमा खर्च गर्दै आएको तथ्य जगजाहेर छ,’ उनले भनेका छन्, ‘म विगत ३३ वर्षदेखि विभिन्न पेसा र व्यवसायमा संलग्न रहँदै आएको व्यक्ति हुँ । मेरो जीवन पोखरेलीसामू सधैँ खुला किताबझैं छ ।’

अनुप

Link copied successfully