आगजनीबाट पोखरा महानगरपालिकाको कार्यालय र ३३ मध्ये २६ वटा वडा कार्यालयमा क्षति पुगेको छ ।
भदौ २४ को प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट कास्कीका सबैजसो सरकारी कार्यालयमा क्षति पुग्यो । कुनै कार्यालयमा पूर्ण रुपमा र केहीमा आंशिक रुपमा क्षति पुगेको हो ।
प्रदर्शनकारीले पोखरा महानगरपालिकाको प्रशासकीय भवन, वडा कार्यालय, जिल्ला प्रशासनसहितका सरकारी कार्यालय, प्रदेशका मन्त्रालय, प्रदेशसभा भवन, प्रहरी चौकी लगायतमा आगजनीबाट क्षति पुर्याए । यीमध्ये सरसफाइ र रंगरोगन गरी प्रयोग गर्न मिल्ने कार्यालयले आंशिक रुपमा सेवा दिन थालेका छन् । केहीले वैकल्पिक व्यवस्था गरेर पनि सेवा सुरु गरेका छन् ।
जिल्ला प्रशासन कास्कीले आइतबारदेखि मुद्दा, शान्ति सुरक्षा र विपद् व्यवस्थापन समेतका अत्यावश्यक सेवा पुनः सुरु गरेको छ । तोडफोड, आगजनी एवं लुटपाट समेतका कार्यपश्चात् कार्यालयमा ठूलो क्षति पुगेकामा केही कार्यकक्षमा न्यूनतम मर्मतसम्भार गरी अत्यावश्यक सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । सम्पूर्ण सार्वजनिक सेवालाई पुनः सुरु गर्नु चुनौतीपूर्ण रहेकाले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका अन्य सेवा क्रमिक रुपमा सुरु गर्दै लगिने र त्यसका लागि पूर्व जानकारी दिइने उनले सुनाइन् । ‘अहिले हामीले कास्कीमा रहेका सबै कार्यालय प्रमुखलाई अत्यावश्यक काम सुरु गर्न भनेका छौं,’ उनले भनिन्, ‘के–कति क्षति भएको छ, त्यसको पनि विवरण संकलन गर्दै छौं ।’
कास्की अदालतले पनि आइतबारबाट म्याद थप, जरुरी पक्राउ पुर्जी स्वीकृत, पक्राउ पुर्जी जारी गर्न अनुमित, बन्दी प्रत्यक्षीकरणको निवेदन र अभियोगपत्रसाथ उपस्थित गराइएका प्रतिवादीहरुको हकमा थुनछेक गर्ने सम्बन्धी सेवा पुनः सुरु गरेको छ । अदालतको पूर्ण बैठकको निर्णयपश्चात यी सेवा सुरु गरेको रजिस्ट्रार राजन खनालले बताए । निषेधाज्ञा र कर्फ्युका कारण तोकिएको मितिमा म्याद/तारेखमा उपस्थित हुन नसकेका मुद्दाका पक्षलाई अदालतको नियमित कामकारबाही सुरु भएको सूचना प्रकाशित भएपछि निवेदन दिएर गुज्रिएको म्याद एवं तारेख थाम्ने थमाउन सकिने निर्णय भएको उनले सुनाए ।
उक्त अवधिकमा मुद्दा गर्ने हदम्याद गुज्रिएको हकमा अदालतको नियमित काम कारबाही सुरु भएको ३० दिनभित्र अदालतमा उपस्थित हुन सक्ने समेत निर्णय कास्की अदालतले गरेको छ । नियमित काम कारबाहीका लागि अर्को सूचना प्रकाशित हुने बताइएको छ ।
आगलागीबाट ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयमा पनि मर्मतसम्भार चलिरहेको छ । बस्ने कुर्सी, टेबल, कम्प्युटर लगायतको अभावमा पूर्ण रुपमा काम थाल्न अझै केही समय लाग्ने कास्की प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले बताए । उनले त्यसपछि मात्रै आन्दोलनका नाममा भएको आगजनी, तोडफोड, लुटपाटमा संलग्नको अनुसन्धान थालिने जानकारी दिए ।
पोखरामा जेन–जी आन्दोलनको तोडफोड र आगजनीको इपिसेन्टर हो – न्युरोडस्थित महानगरपालिकाको कार्यालय । सशस्त्र प्रहरीसँग प्रदर्शनकारीको दोहोरो भिडन्तबीच यही कार्यालयबाट सुरु भएको तोडफोड, आगजनी भदौ २४ मा त्यसपछि अन्य ठाउँमा फैलिएको थियो ।
पोखरा महानगरपालिकाको कार्यालय र ३३ मध्ये २६ वटा वडा कार्यालयमा क्षति पुगेको छ । महानगरपालिकाबाट प्रवाह हुने सेवा असोज १ देखि दमकल भवन, पोखरा सभागृह, विभिन्न महाशाखाबाट सुरु गर्ने तयारी भइरहेको पोखरा–२५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले बताए । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, सार्वजनिक लेखा समिति, कानुन शाखा, सरसफाइ शाखा, सूचना प्रविधि शाखा पोखरा–९ शान्ति वनस्थित दमकल भवनमा राख्ने तयारी छ ।
प्रशासन, राजस्व र सहरी विकास महाशाखा, भण्डार, तथ्यांक विपद्/उजुरी फर्छ्यौट, अभिलेखीकरण, पञ्जीकरण, लेखा शाखा र महानगर प्रहरी बल पोखरा सभागृहमा रहने छन् । आर्थिक प्रशासन महाशाखा प्रमुखको कार्यकक्ष र कोष प्रशासन शाखाको सेवा पोखरा–१७ ड्यामसाइडस्थित शिक्षा महाशाखाको भवनबाट प्रवाह हुनेछ । शिक्षा महाशाखा त्यहीँ यथावत् रहनेछ ।
न्युरोडस्थित पूर्वाधार महाशाखा भएको भवनबाट पूर्वाधार, आन्तरिक लेखा परीक्षण शाखा, योजना, भूमि प्रशासन, खरिद शाखाका सेवा दिइनेछ । पोखरा–७ जनप्रिय मार्गस्थित आर्थिक विकास महाशाखाबाट आर्थिकसहित सहकारी शाखा, श्रम तथा रोजगार शाखा (सामी कार्यक्रमसमेत) र व्यवसाय प्रवर्द्धन केन्द्रसम्बन्धी काम हुनेछन् ।
वडा कार्यालबाट प्रवाह हुने सेवा पनि असोज १ देखि नै सुरु गर्ने तयारी छ । त्यसका लागि शनिबार बसेको भर्चुअल बैठकले क्षति मूल्यांकन र सेवा प्रवाहको आवश्यक तयारी गर्ने निर्णय गरेको छ । मंगलबारसम्म क्षति विवरण यकिन गर्ने र असोज १ देखि हाल रोकिएका अत्यावश्यकबाहेक अन्य सेवा प्रवाह सुरु गर्ने गरी काम भइरहेको महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले बताए । पोखराका ३३ मध्ये २० वटा वडा कार्यालयमा पूर्ण क्षति पुगेको उनले सुनाए । ‘६ वटा वडा कार्यालयमा आंशिक क्षति छ भने ७ वटामा कुनै क्षति भएको छैन,’ उनले भने ।
धेरै वडा कार्यालय सिफारिसबाहेक अन्य सेवा तत्काल दिन सक्ने अवस्थामा छैनन् । पोखरा–१३ का वडाध्यक्ष किरण बरालले सोमबार बिहान कार्यालय सरसफाइमा सहभागी हुन वडावासीलाई आह्वान गरेका छन् । सरसफाइपछि ल्यापटप–कम्प्युटर र प्रिन्टरको व्यवस्था गरेर तत्काललाई सेवा प्रवाह सुरु गर्ने उनले बताए । ‘कार्यालय सबैको हो भन्ने भावनाले त्यसलाई बनाउन सबै एकजुट हुनुपर्छ भनेर मिलेर सफा गर्दै छौं,’ उनले भने, ‘अस्पतालका लागि आवश्यकसहित चाहिने सिफारिस दिन्छौं ।’
पोखरा–५, ८, १७ का वडा कार्यालय हालै नयाँ भवनमा सरेका थिए । आन्दोलनकै क्रममा यी वडा कार्यालय पनि पूर्ण क्षतिग्रस्त छन् । १० दिनअघि नयाँ ठाउँमा सारिएको पोखरा–१७ को वडा कार्यालय आगजनी र तोडफोडले ध्वस्त भएको छ । कम्प्युटर, प्रिन्टर र फाइल आगजनी र चोरी भएकाले सबै सुविधा प्रवाह वडाबाट तत्कालै सम्भव नरहेको पोखरा–१७ की वडाध्यक्ष राधिका शाही योगीले बताइन् । ‘मुचुल्का उठाएका छौं । अहिलेलाई जलेकै भवन बाहिर बसेर अहिले हामी नागरिकका समस्या सुन्ने काम गर्छौं । अरु कामलाई समय लाग्छ,’ उनले भनिन् ।
