बहुविपद् सामना गरिरहेको मुस्ताङमा जलवायु सम्मेलन हुँदै

हिमालमा परेको जलवायु परिवर्तनको प्रभाव तराईमा पनि पर्छ भन्ने सन्देश देशभरका जनप्रतिनिधिमार्फत सरोकारवालालाई दिन खोजिएको आयोजक घरपझोङ गाउँपालिकाले जनाएको छ ।

भाद्र १६, २०८२

घनश्याम खड्का

Climate conference in Mustang, which is facing multiple disasters

What you should know

म्याग्दी — जलवायु चक्रमा आएको तीव्र परिवर्तनले बहुविपद् सामना गरिरहेको हिमालपारिको मुस्ताङमा भदौ अन्तिममा जलवायु सम्मेलन हुन लागेको छ । 

मुस्ताङ सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाले आयोजना गरेको ‘घरपझोङ मुस्ताङ जलवायु सम्मेलन' मा देशका सबै ७ सय ५३ वटै स्थानीय तहका प्रमुख (मेयर, अध्यक्ष) तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ । सम्मेलनमा देशभरबाट करिब ३ हजार प्रतिनिधि सहभागी हुने आयोजक घरपझोङ गाउँपालिकाले जनाएको छ । 

‘जलवायु परिवर्तनको असर हिमाली भेगमा मात्र हैन, सबै क्षेत्रमा परेको छ । तर हामीले बहुविपद् सामना गरिरहेका छौं । हिमालमा परेको जलवायु परिवर्तनको प्रभावले तराईमा समेत असर पर्नेछ भन्ने सन्देश देशभरका जनप्रतिनिधिमार्फत सरोकारवालालाई दिनु सम्मेलनको मुख्य उद्देश्य हो,’ घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिं लालचनले भने, ‘ग्लोबल वार्मिङ गराउने ग्यास उत्सर्जन गर्न हाम्रो कुनै योगदान छैन । तर विश्वका अन्य कुनै क्षेत्रका मान्छेले गरेको अनियन्त्रित विकास र सुखभोगको सजाय दुर्गम ठाउँका हामी भोग्न बाध्य नपारियोस् भनेर विश्व समुदायलाई जनस्तरबाट ध्यानाकर्षण गराउँन चाहन्छौं ।’ 

जलवायु परिवर्तन विश्वका लागि ठूलो चुनौती छ । अझ छायाँवृष्टि हुने हिमालपारिको मुस्ताङमा हिउँ र पानी पर्ने चक्र र शैलीमा व्यापक फेरबदल आएसँगै यहाँको कृषि, स्वास्थ्य, संस्कृति समेत क्षेत्रमा तीव्र प्रभाव पारेको छ । जलवायु परिवर्तनको कारणले खेतीबाली क्रमशः माथिल्लो क्षेत्रमा सर्दै गएको र बालीनालीमा नदेखिएका रोगकिरा देखिइरहेका छन् ।

हिउँदमा हिउँ नपर्ने र मनसुनमा कहिल्यै पानी नै नपर्ने त कहिले धेरै वर्षा हुने क्रम बढेको थासाङ गाउँपालिका–४ कोवाङका वडाध्यक्ष गौतम शेरचनले बताए ।'कालीगण्डकीमा हिमालबाट बगेर आएको हिमोढले ढाकिँदा खेतीयोग्य जामिन पुरिँदै गएका छन् । माटाका घर चुहिन थालेका छन्, पानीका मुहान सुक्न थालेका छन् । हिमरेखा माथि सर्दै गएकोले पशुपालन पेसामा समेत समस्या देखिएको छ,’ उनले भने, ‘केही वर्षअघिसम्म मेरो बारीमा लटरम्म स्याउ फल्थ्यो । अहिले बोट फस्टाएका छैनन् । पोखरामा हुने धानखेतीबाहेक सबै अन्नबाली मुस्ताङमै फल्न थालेको छ । यसले हाम्रो जीवनशैली र संस्कृतिक शैली नासिने क्रममा छ ।’

घनश्याम

Link copied successfully