पोखरा एयरपोर्ट नचलोस् भन्नेहरुले भ्रष्टाचारसँग जोडे : महानगर प्रमुख आचार्य

आचार्यको प्रश्न, ‘२१ अर्बमा बनेको एयरपोर्टमा ३ अर्ब तिर्न बाँकी छ । १४ अर्ब भ्रष्टाचार भएको भए बाँकी ४ अर्बमा बन्यो त ?’

भाद्र १५, २०८२

दीपक परियार

Those who want Pokhara Airport not to operate are connected with corruption: Metropolitan Chief Acharya

What you should know

पोखरा — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १४ अर्ब भ्रष्टाचार भयो भन्नु पत्याउने विषय नरहेको पोखरा महानगर प्रमुख धनराज आचार्यले बताएका छन् । नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको ३० औं साधारणसभाको उद्घाटनमा उनले पोखरा एयरपोर्ट नचलोस् भन्ने उद्देश्य राख्नेहरुले भ्रष्टाचारसँग जोडेको बताए ।  

‘२१ अर्बमा बनेको एयरपोर्ट १४ अर्ब भ्रष्टाचार भयो, बाँकी रह्यो ७ अर्ब, ३ अर्ब तिर्न बाँकी छ, बाँकी रह्यो ४ अर्ब । ४ अर्बमा बनिवरी यो दुई वर्षमा चलिराछ त ?,’ उनले प्रश्न गर्दै भने, ‘अंक पनि अलि मिल्ने खालको भन्दिए पनि हुन्थ्यो । जथाभावी बोल्ने विषय पनि होइन यो, तथ्यमा आधारित भएर बोल्नुपर्‍यो ।’ यदि कहीं गडबड भएको भए राज्यले कसैलाई पनि कुनै पनि हालतमा छोड्न नहुने उनले बताए ।

राजधानीले अन्यत्र विकास लैजान नखोज्ने उनको भनाइ थियो । ‘पोखरा विमानस्थल बनाउनै हुने थिएन, यो अभिशाप हो, भन्नेजस्ता कुराहरु काठमाडौंले भनिरहेको हुन्छ,’ उनले भने, ‘काठमाडौंले बाहिरलाई अलि देखिसहँदैन, जेठो छोरो भएर ।’ 

पुरानो पोखरा एयरपोर्टबाट दैनिक हजार–एघार सयले ओहोरदोहोर गर्ने गरेकोमा अहिले पाँच हजारभन्दा बढी दैनिक ओहोरदोहोर गर्ने, पहिला सवा ३ बजेपछि उडान नहुनेमा अहिले राति ९–१० बजेसम्म पनि भइरहेको, नयाँ विमानस्थलको वार्षिक क्षमता १० लाख भए पनि अहिले १२ लाख मानिस वार्षिक ओहोरदोहोर गरिरहेको उनले सुनाए । ‘पूर्ण क्षमतामा चलेको हो, मात्रै अन्तर्राष्ट्रिय उडान नभएको हो,’ उनले भने, ‘अहिले पोखरा–ल्हासा साताको एउटा नियमित उडान भइरहको छ । पोखरा–छेङ्दु–अस्ट्रेलिया छिट्टै सुरु हुँदैछ । त्यसबाहेक अन्य विमान कम्पनी पनि आउन खोजिरहेका छन् ।’

उनले अहिले काठमाडौं, भैरहवा, भरतपूर र नेपालगन्ज उडान भइरहेकोमा भरतपुर हटाएर धनगढी, भद्रपुर, सिमरा र जनकपुर उडान थप्न हवाई सेवा कम्पनीसँग सहमति भएको उल्लेख गरे । पर्यटन प्रवर्द्धनमा प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने बताउँदै उनले भने, ‘यो माइलो सरकार कस्तो रहेछ भने न त केही गर्नुपर्ने, न त गाली खाने । साधनस्रोत छ, मन्त्रालय छ । मन्त्रालयले पनि केही न केही गतिविधि गरेको हुनुपर्‍यो । त्यसमा हामी साथ छौं ।’

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully