ढुंगा खसिहरेकाले पैदलयात्रीलाई पनि वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह ।
गोरखा — धार्चे गाउँपालिका–३ दोभानस्थित खोत्राङ खोलावारि पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बिहीबार राति उत्तरी क्षेत्र जाने मुख्य सडकमा पहिरो खस्दा सवारी आवतजावत ठप्प भएको हो ।
सडकमाथि भिरबाट शुक्रबार बिहानसम्म पनि साना–ठूला ढुंगाहरू खसिरहेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए । उक्त बाटो भएर आवतजावत गर्दा दुर्घटनामा पर्न सक्ने उच्च जोखिम रहेकाले पैदल यात्रीलाई वैकल्पिक बाटोको प्रयोग गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।
उक्त बाटो भएर चुमनुव्री र धार्चेका स्थानीयहरू आउजाउ गर्ने गर्छन् । ‘माथिबाट ढुंगा खस्ने जोखिम छ, पहिरो गएको क्षेत्र सानो भएकाले ढुंगा झरिहाले भाग्ने ठाउँ पनि छैन, ढुंगा झरिरहेकाले अहिले तत्काल बाटो मर्मतको पनि सम्भव छैन,’ उनले भने, ‘पैदल यात्रा गर्नेहरूलाई पनि केही दिन वैकल्पिक बाटो भएर आउजाउ गर्न भनेका छौँ ।’
