संविधानले संरक्षित, स्वायत्त र विशेष क्षेत्रको व्यवस्था गरे पनि कानुन अभावमा थारू र अन्य समुदायले सहभागिता पाउन सकेका छैनन्।
नवलपुर — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानमा भएको व्यवस्थाको ठिक ढंगले कार्यान्वयन हुन नसकेको बताएका छन्। पूर्वी नवलपरासीको कावासोतीमा थारू राष्ट्रिय सङ्ग्रहालय तथा अध्ययन केन्द्रको आयोजनामा भएको भोदी खेल प्रतियोगिताको उद्घाटन एवम् खड्गबहादुर थनेत र कुलचन्द्र महतोको स्मृतिमा प्रकाशित पुस्तकको विमोचन गर्दै दाहालले यस्तो बताएका हुन्।
‘संरक्षित, स्वायत्त र विशेष क्षेत्र तोकेर अधिकार प्राप्त हुनबाट बञ्चित समुदायको राज्य तहमा सहभागिताका लागि संविधानमा हामीले व्यवस्था गरेका छौं,’ उनले भने, ‘तर, संविधानमा भएर मात्र हुँदैन, त्यसका लागि कानुन निर्माण नहुँदा थारू समुदाय लगायत अन्य आदिवासी, जनजाति, दलित र अल्पसङ्ख्यक समुदायको निर्णय तहमा सहभागिता हुन सकेको छैन।’
प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका दाहालले संघीयता कार्यान्वयन गर्न राज्यले तत्परता र गम्भीरता नदेखाएको आरोप लगाए। गण्डकी प्रदेशमा थारू समुदायको अधिकार स्थापित गर्न संरक्षित क्षेत्र घोषणा गर्नेतर्फ राज्यको ध्यान जानुपर्ने बताए।
उनले आफूले अध्यापन गराएको जिल्ला र पञ्चायतविरुद्धको आन्दोलन सुरु गरेको स्थान भएकाले पूर्वी नवलपरासी जिल्लालाई विशेष महत्वका साथ हेर्दै यहाँको विकास निर्माणमा पनि राज्यलाई झकझकाउने उल्लेख गरे।
थारू समुदायको अन्त पर्वको अवसरमा जिल्लाको कावासोती–१६ डण्डमा थारू जातिको परम्परागत खेल भोदी प्रतियोगिता भइरहेको छ।
