नवलपुरको दुर्गम क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

पहाडी भेगका नागरिकका लागि जिल्ला सदरमुकाम कावासोतीसम्म पुग्न ५० किलोमिटरभन्दा बढी पहाडी भेगमा जोखिम यात्रा गर्नुपर्ने र प्रशासनिक सेवाका लागि सर्वसाधारणलाई समस्या भएको भन्दै स्थानीय जनताको सुविधाका लागि इलाका प्रशासन कार्यालय स्थापना अपरिहार्य रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

भाद्र १३, २०८२

नवीन पौडेल

Demand to establish locality administration office in remote areas of Nawalpur

नवलपुर — इलाका प्रशासन कार्यालयको माग राख्दै पूर्वी नवलपरासीका जनप्रतिनिधिले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन् । २०७८ मा जिल्लाका सबै सरोकारवालाले पहाडी भेगका लागि बुलिङटार ६ अत्रौलीमा इलाका प्रशासन कार्यालय स्थापना गर्नका लागि गृह मन्त्रालय सिफारिस गरेका थिए ।

तर, मन्त्रिपरिषद्ले पछिल्लो पटकको निर्णयमा पनि नवलपुर नपरेपछि स्थानीयले विरोध र राजनीतिक दलको पहुँच नपुगेको भन्दै आलोचना गरेका थिए । 

क्षेत्र नम्बर १ का सांसद शशांक कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गृहमन्त्री लेखकलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । पहाडी भेगका नागरिकका लागि जिल्ला सदरमुकाम कावासोतीसम्म पुग्न ५० किलोमिटरभन्दा बढी पहाडी भेगमा जोखिम यात्रा गर्नुपर्ने र प्रशासनिक सेवाका लागि सर्वसाधारणलाई समस्या भएको भन्दै स्थानीय जनताको सुविधाका लागि इलाका प्रशासन कार्यालय स्थापना अपरिहार्य रहेको ज्ञापनपत्रमा उल्लेख छ ।  

यसअघि पनि सम्बन्धित निकायमा माग दर्ता भए पनि कार्यान्वयन नभएकाले यसपटक गृह मन्त्रालयसँग गम्भीर पहल गर्न आग्रह गरिएको छ । यसैगरी विनयी त्रिवेणी गाउँपालिकाको वडा नम्बर ६ र ७ का बासिन्दालाई पालिकाको केन्द्र आउन लुम्बिनी प्रदेश हुँदै आउनुपर्ने बाध्यता भएकाले इलाका प्रशासन वा विशेष क्षेत्र बनाएर सेवा प्रदान गर्न माग गरिएको छ ।

टोलीमा शशांक कोइराला, सांसद विष्णुकुमार कार्की, कांग्रेस नवलपुरका सभापति एवम् प्रदेशसभा सदस्य महेन्द्रध्वज जीसी, कांग्रेस गणडकीका महामन्त्री विष्णुप्रसाद लामिछाने, बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगर,  बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझालगायत विभिन्न दलका प्रतिनिधि सहभागी थिए ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully