दुई वडाका ६४१ जनालाई हेपाटाइटिस ‘बी’ विरुद्धको खोप लगाइयो
गोरखा — चुमनुव्री–४ र ५ का ३७ जनामा हेपाटाइटिस ‘बी’ को संक्रमण देखिएको छ। गाउँपालिकाको समन्वयमा किमोलुङ फाउन्डेसनले गरेको १० दिने हेपाटाइटिस बी परीक्षण तथा हेपाटाइटिसविरुद्धको खोप अभियानका क्रममा ३७ जनामा संक्रमण देखिएको हो।
चुमनुव्री–५ मा ४९७ जनामा हेपाटाइटिस परीक्षण गरिएकोमा २८ जनामा संक्रमण देखिएको शिविर सञ्चालक किमोलुङ फाउन्डेसनका अध्यक्ष वाङचुक चाप्तेन लामाले जानकारी दिए। संक्रमितमध्ये १७ महिला र ११ पुरुष छन्।
त्यस्तै चुमनुव्री–४ का ७२६ जनाको स्क्रिनिङका क्रममा ४ महिला र ५ पुरुष गरी ९ जना हेपाटाइटिस बी को संक्रमण देखिएको उनले बताए। फाउन्डेसनले दुई वडामा साउन २९ गतेदेखि भदौ ९ गतेसम्म हेपाटाइटिस बी परीक्षण तथा हेपाटाइटिस बी विरुद्धको खोप शिविर सञ्चालन गरेको थियो। शिविरको क्रममा वडा नम्बर ५ का ३१५ र वडा नम्बर ४ का ३२६ जनालाई हेपाटाइटिस ‘बी’ विरुद्धको खोप पनि दिइएको लामाले जानकारी दिए।
‘हिमाली भेगमा रोजगारी छैन, ऋण लिएर युवाहरू विदेश जान खोज्छन्, विदेश जाने बेला मेडिकल रिपोर्ट चाहिँदो रहेछ, कतिपय मेडिकल फेल भएको पायौँ,’ लामाले भने, ‘यस्तो अवस्था थाहा भएपछि यो रोगको न्यूनीकरण गर्न र संक्रमण बढ्न नदिन शिविर सञ्चालन गरेका हौँ।’ १६ वर्ष माथिका स्थानीयलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको उनले बताए।
