विश्व स्वास्थ्य संगठनको सहयोगमा नयाँ प्रणालीले अस्पतालको कामलाई अनलाइन बनाउँदै, प्रिन्टको आवश्यकता घटाउँदै स्वास्थ्य सेवा सुधार गर्नेछ।
What you should know
तनहुँ — जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ वेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली सुरु गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार एक कार्यक्रमकाबीच उक्त प्रणालीको औपचारिक सुरुवात गरेका हुन् । विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा गत जेठ १४ गते अस्पतालमा यो प्रविधिको अभ्यास गरिएको थियो ।
इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको शुभारम्भ गर्दै मन्त्री पौडेलले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा अस्पताललाई तीन सय शय्या क्षमतामा विस्तार गर्न भारत सरकारसँग सम्झौता हुने जानकारी गराए । उनले भने, ‘अस्पतालको डिटेल प्रोजेक्ट रिपोर्ट अनुसार करिब ६ सय करोड रुपैयाँ लागत स्वीकृत भइसकेको छ र भारतको स्वास्थ्य मन्त्रालयमा प्रक्रिया अघि बढिसकेको छ ।’
मन्त्री पौडेलले अस्पताल स्तरोन्नतिको काम अघि बढ्ने भएकाले सो अवधिसम्म हालको जनरल अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।
यस्तै, मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई सफल पार्न स्थानीय र प्रदेश सरकारले पनि लगानी गर्नुपर्ने बताएका छन् । संघीय सरकारले मात्रै स्वास्थ्य बीमालाई थेग्न नसक्ने उनको भनाइ छ । स्वास्थ्य वीमाका लागि २९ अर्ब रुपैयाँ खर्च हुने भए पनि चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयले १० अर्ब मात्रै विनियोजन गरेको जानकारी गराउँदै उनले बजेटको अभावमा अस्पताललाई वीमा बोर्डको बक्यौता रहेको सुनाए ।
‘सबै पालिका, प्रदेशले वीमाको प्रस्तावित कार्यक्रमलाई समर्थन गरिदिनुस् । समर्थन गरिदिनुभो भने वीमाले एकैपटक एक खर्ब आम्दानी गर्न सक्छ’, उनले भने ‘जनप्रतिनिधि र कर्मचारीको तलबको एक प्रतिशत रकम बीमा बोर्डमा जाने र सरकारले त्यति नै रकम थपिदिने व्यवस्था गर्नुपर्ने अवस्था छ ।’
‘तलबको एक प्रतिशत झिक्दा कसैलाई केही फरक पर्छ ? अरुका लागि होइन आफ्नै लागि हो’, मन्त्री पौडेलले भने, ‘यसका लागि कानुन बनाउन पनि पर्दैन । २०७४ सालमा बनेकै कानुनमा उल्लेख भइसकेको छ ।’
अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठका अनुसार, इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली सुरु भएसँगै टिकटिङ, बिलिङ, औषधि वितरण, परीक्षण रिपोर्ट लगायत सबै विवरण अनलाइन प्रणालीमार्फत सहज रूपमा उपलब्ध हुनेछन् । एक्स–रे र ल्याब रिपोर्ट सिधै चिकित्सकले अनलाइन हेर्न सक्ने भएकाले प्रिन्टको आवश्यकता नपर्ने, कागजी काम घट्ने र स्वास्थ्यकर्मीको समय उपचारमा बढी केन्द्रित हुने उनले बताए ।
दक्षिण एसियाको उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका नाममा केन्द्र स्थापना गरेको हो । केन्द्रलाई शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा प्राप्त भएको छ ।
