खेल गतिविधिमार्फत सम्बन्ध विस्तार गर्न समझदारी

खेल गतिविधिमा मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अभिवृद्धि गर्ने गरी पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको चेओङ्ग योङ काउन्टी खेलकुद समितिबीच समझदारी भएको हो ।

भाद्र १०, २०८२

अनुप पौडेल

Understanding to expand relationships through sports activities

What you should know

कास्की — खेल गतिविधिमा मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अभिवृद्धि गर्ने गरी पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको चेओङ्ग योङ काउन्टी खेलकुद समितिबीच समझदारी भएको छ ।

महानगरपालिका र समितिबीच मंगलबार समझदारी पत्रमा हस्ताक्षर भयो । पत्रमा महानगरपालिकाकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र समितिको तर्फबाट हान ग्वाङ् सेओकले हस्ताक्षर गरे । 

दुवै पक्षबीच आपसमा खेल गतिविधिको माध्यमबाट मैत्रीपूर्ण सम्बन्ध अभिवृद्धि गर्ने, खेलाडी, प्रशिक्षक र खेलप्रेमीबीच भ्रमण आदानप्रदान, पोखराका खेलकुद र खेलाडीको प्रदर्शनलाई थप सुधार गर्न समन्वय र सहयोग प्रदान गर्ने, कोरियाली खेलकुदसँग सम्बन्धित उत्पादन साथै अन्य वस्तु तथा सेवाको निर्यातमा आवश्यक समन्वय तथा सहकार्य गर्ने उद्देश्यले समझदारी गरिएको महानगरपालिका प्रमुख धनराज आचार्यले बताए । 

खेलाडीको दक्षता अभिवृद्धिमा यो समझदारीले महत्त्वपूर्ण योगदान गर्ने उनको विश्वास छ । ‘फुटबल, बक्सिङ, तेक्वान्दो, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, लनटेनिस, एथ्लेटिक्स, म्याराथनलगायत खेलमा हाम्रा खेलाडीको दक्षता अभिवृद्धि गर्न र विशेषज्ञता हासिल गर्न यो समझदारी महत्त्वपूर्ण हुनेछ,’ प्रमुख आचार्यले भने, ‘पर्यटकीय राजधानी पोखरालाई खेलकुदको हब बनाउने सन्दर्भमा अन्तर्राष्ट्रिय सहकार्यले यसको औचित्य पुष्टि गरेको छ ।’ पोखरेली र कोरियाली खेलाडीबीच नियमित मैत्रीपूर्ण खेलको व्यवस्था मिलाउने र कोरियाली प्रशिक्षकको मार्गदर्शनमा पोखराका खेलाडीको क्षमता अभिवृद्धि गर्न समेत सहज हुनेछ ।

चेओङ्ग योङ काउन्टी खेलकुद समितिका अध्यक्ष हान ग्वाङ् सेओकले पोखराका खेलाडीको प्रदर्शनमा सुधार गर्न उन्नत प्रविधि र प्रशिक्षण विधि प्रदान गरिने बताए । युवा खेलाडी आदानप्रदान, विद्यालय स्तरका खेलकुद कार्यक्रम सञ्चालन, पोखरामा रहेका खेलकुद संस्थालाई व्यावसायिक स्तरको सीप विकासमा सहयोग, समग्र पोखरा महानगर भित्रका खेलकुद गतिविधिका सम्भाव्य क्षेत्रको खोजी गर्न आफूहरु तत्पर रहेको उनको भनाइ थियो । 

अनुप

Link copied successfully