गोरखा अस्पतालमा छोराको जन्मपछि दलित श्रीमतीलाई छोडेर सम्पर्कविहीन भएका श्रीमान् धादिङबाट पक्राउ परेका छन्।
गोरखा — जातीय विभेद गरेको आरोपमा धादिङको गजुरी गाउँपालिका-२ मलेखु छेपाङ घर भएका २२ वर्षीय मिलन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठले प्रेम सम्बन्धपछि गोरखाको सहिद लखन गाउँपालिका–१ बक्राङ घर भएकी मनिका परियारसँग २०८० मंसिरमा विवाह गरेका थिए।
गर्भवती बनेकी श्रीमती दलित रहेको परिवारले थाहा पाएपछि भने श्रेष्ठ गत मंसिरबाट सम्पर्कविहीन बनेका थिए।
श्रीमान् सम्पर्कविहीन बनेपछि माइतीगाउँ बक्राङ आएर बसेकी मनिकाले गत जेठ १० गते गोरखा अस्पतालमा छोरा जन्माएकी थिइन् । श्रीमान् सम्पर्कविहीन बनेपछि छोराको जन्मदर्तासमेत बनेको छैन। ‘जातीय विभेद गरी हेला–होचो गरेको, दलित भएको कारण देखाएर छोराको जन्मदर्ता समेत नगराइ दिएको भन्दै कानुनबमोजिम कारबाहीका लागि जाहेरी दरखास्त परेको थियो,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले भने, ‘खोजीका क्रममा आइतबार श्रेष्ठलाई धादिङबाट पक्राउ गरेका छौं।’ जिल्ला प्रहरी कार्यालय धादिङसँग समन्वयमा धादिङको गजुरी गाउँपालिका–६ राम्चेमा लुकिछिपी बसेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको उनले बताए।
आरोपि विरुद्ध सोमबार जातीय विभेदमा अनुसन्धानका लागि जिल्ला अदालत गोरखाबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । प्रेम सम्बन्धपछि मनिका र मिलनबीच विधिवत् रूपमै विवाह भएको थियो। प्रेममा परेकी श्रीमती दलित रहेको परिवारलाई थाहा पाएपछि मिलनको व्यवहारमा परिवर्तन मात्र आएन, सम्पर्कविहीन बने । बक्राङको माइतीगाउँ आएर मनिका अस्थायी टहरोमा बस्दै आएकी छिन्।
