मोटरसाइकलको आवाज चर्को बनाएर चलाएको निहुँमा युवकको हत्या

प्रहरीको विशेष टोलीले विभिन्न स्थानबाट घटनामा संलग्न ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए।

भाद्र १०, २०८२

प्रतीक्षा काफ्ले

A young man was killed for driving a motorcycle with loud noise

What you should know

काठमाडौँ — स्याङ्जामा मोटरसाइकलको आवाज चर्को बनाएर चलाएको निहुँमा एक युवाको हत्या भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

भदौ ७ गते राति करिब ११ बजे वालिङ नगरपालिका–५ जर्कोटका ३२ वर्षीय ढालबहादुर थापामाथि कुटपिट गरिएको थियो। उनी त्यस बेला मोटरसाइकल चलाएर गाउँमै ओहोरदोहोर गरिरहेका थिए। दिउँसो त्यही ठाउँमा भलिबल खेल भइरहेकाले युवाहरूको जमात ठूलो थियो।

साथीभाइ भेटघाटकै क्रममा उनी अबेरसम्म बसेका थिए। खेल प्रतियोगितामा सामान्य भनाभन भएपछि चापाकोटबाट सहभागी भएका युवाहरूलाई बोलाएर दुई समूहबीच झडप भएको थियो। त्यस क्रममा थापाले मोटरसाइकल चलाउँदा आवाज चर्को भएको भन्दै थप निहुँ खोजिएको थियो। चापाकोट हुँदै आएका युवाहरूको समूहले उनलाई निर्घात कुटपिट गरेको प्रहरीको भनाइ छ।

गम्भीर घाइते भएका थापालाई गण्डकी मेडिकल कलेज, पोखरा पुर्‍याइएको थियो। तर उपचारका क्रममा भदौ ८ गते बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालयले घटनालाई गम्भीर रूपमा लिएर विशेष अपरेसन टोली गठन गरी अनुसन्धान अघि बढाएको थियो। प्रहरीको विशेष टोलीले विभिन्न स्थानबाट घटनामा संलग्न ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार घटना भएको राति नै प्रहरीले सादा पोसाकमा टोली परिचालन गरेको थियो।

पक्राउ पर्नेमा हरिनास गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा, २४ वर्षीय अनिल शाही ठकुरी, २० वर्षीय विवेक मानन्धर, १८ वर्षीय बादल विक, २३ वर्षीय गुरुप्रसाद (गोरे) लम्साल, १७ वर्षीय आर्यन क्षेत्री, २३ वर्षीय विश्वास वाग्ले र वडा नं. ६ का २२ वर्षीय निशान थापा रहेका छन्।

पक्राउ परेकामाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी भदौ ८ गतेदेखि लागू हुने गरी जिल्ला अदालत स्याङ्जाबाट १० दिनको म्याद थप गरिएको एसपी न्यौपानेले बताए।

प्रतीक्षा

Link copied successfully