स्याङ्जाको वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको गएराति मृत्यु भएको हो ।
काठमाडौँ — दुई समूहबीच झडप हुँदा स्याङ्जामा एक युवाको ज्यान गएको छ । स्याङ्जाको वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको गएराति मृत्यु भएको हो । वालिङ नगरपालिका–७ केवेरेभञ्ज्याङमा स्थानीय र चापाकोटबासीबीच झडप भएको थियो ।
जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेका अनुसार मोटरसाइकल पड्काएर चलाएको आरोपमा विवाद भई झडप भएको हो । मृतक थापा स्थानीय हुन् ।
त्यहाँ पुगेका अर्को समूहले चापाकोटबाट मान्छे बोलाएर झगडा गरेका थिए । झडपमा गम्भीर घाइते भएका थापालाई प्राथमिक उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज, पोखरा रिफर गरिएको थियो ।
प्रहरीका अनुसार चिकित्सकले उपचारक्रममै राति साढे १ बजे थापालाई मृत घोषित गरेका हुन् । घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा हरिनास गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका–५ का २४ वर्षीय अनिल शाही रहेका छन् ।
उनीहरूलाई आज बिहान करिब ९ बजे पक्राउ गरी वडा प्रहरी कार्यालय वालिङको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
