कालीगण्डकी दोहन रोक्न जनप्रतिनिधिको हारगुहार

कानुनले असारदेखि भदौसम्म नदीबाट बालुवा, गिट्टी, ढुंगालगायत नदीजन्य वस्तु उत्खननमा रोक लगाए पनि दोहन रोकिएको छैन ।

भाद्र ७, २०८२

सुमनजंग थापा

People's representative's plea to stop exploitation of Kaligand

What you should know

पर्वत — कालीगण्डकी नदीमा भइरहेको अवैध दोहन रोक्न फलेवास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारीले सरोकार निकाय पुगेर गुहारेका छन् । बर्खामा पनि कालीगण्डकी दोहन नरोकिएपछि उनी जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय कार्यालय र जिल्ला प्रहरी कार्यालय पुगेका हुन् ।

नगरपालिकाका प्रवक्ता समेत रहेका उनले नगरपालिकाबाटै असहयोग भएको भन्दै गिट्टी, बालुवा चोरी निकासी नियन्त्रण गरिदिन भन्दै वडाको पत्रसहित कार्यालयहरूमा पुगेका हुन् । आफ्नो वडा कटुवा बगरबाट कालीगण्डकी दोहन भएको र त्यसलाई रोक्न नगरपालिका प्रमुखलाई आग्रह गरे पनि बेवास्ता गरेको वडाध्यक्ष तिवारीले बताए ।

‘मेरै वडामा भएको कालीगण्डकी नदीमा हुने चोरी निकासी रोक्न नगरपालिकामा पनि पत्र पठाएको छु’, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई पत्र थमाउँदै उनले भने, ‘मिलेमतो बेगर नदी दोहन हुनै सक्दैन । प्रहरी चौकीकैमूनि दोहन हुन्छ । प्रहरी कार्यालयको आँखै अघि टिपरमा तस्कर भइरहेको छ ।’

People's representative's plea to stop exploitation of Kaligand

कालीगण्डकी दोहनको विषयमा कुरा राख्न जिल्ला प्रहरीमा पुग्दा डीएसपी रविन विष्टले राम्रो व्यवहारमा प्रस्तुत नभएकाले हुलाकबाटै पत्र पठाउने भनेर निस्किएको उनले बताए । उनले, ‘डिएसपीको कार्यकक्षमा पर्खेर बसिरहेको थिएँ । उहाँले कार्यकक्षमा नआउने बाहिरै आएर भन्नुस् भनेर जनप्रतिनिधिको हुर्मत लिन खोज्नुभयो । अनि मैले हुलाकबाटै पत्र पठाउँछु भनेर निस्किएँ ।’

पर्वतका प्रमुख जिल्ला अधिकारी घिमिरेले नदीजन्य पर्दाथको उत्खनन्, सङ्कलन र व्यवस्थापनको महत्त्वपूर्ण भूमिका स्थानीय तहको हुने बताए । वातावरणीय मूल्यांकन गरी कहाँ ठेक्का लगाउने र नलगाउने भन्ने काम स्थानीय तहकै अधिकारको विषय भएको उनले बताए । ‘अनुगमन समितिको संयोजक जिल्ला समन्वय प्रमुख र विषयगत कार्यालयहरू हुन्छन् । सधैं अनुगमनमा निस्कन पनि सम्भव हुन्न’, उनले भने, ‘मैले विपद् व्यवस्थापनको बैठकमा पनि बर्खाको समयमा नदीजन्य पर्दाथ रोक्न आदेश गरेको थिएँ । आगामी दिनमा यस्ता कुरालाई छिट्टै नियन्त्रण गर्ने प्रयास गर्छौँ ।’

फलेवास नगरप्रमुख गंगाधर तिवारीले वडाध्यक्षले भने जस्तो ठूलो मात्रामा नदी दोहन नभएको बताए । ‘केही मान्छेले एक्स्काभेटर र ट्याक्टर हालेर झिक्न खोज्दै रहेछन्’, उनले भने, ‘त्यसलाई नियन्त्रणमा लिने काम गर्‍यौं । अहिले त्यस्तो छैन ।’ उनले जलजला गाउँपालिका र कुश्मा नगरपालिकाको तुलनामा फलेवासमा निकै थोरै मात्रामा बालुवा उत्खनन भएको बताए ।

कानुनले असारदेखि भदौसम्म नदीबाट बालुवा, गिट्टी, ढुङ्गा लगायत नदीजन्य वस्तु उत्खननमा रोक लगाए पनि दोहन रोकिएको छैन । फलेवासका कटुवा बगरसँगै कुश्मा नगरपालिकाको जलकिनी, नयाँपुल, सहस्रधारा, गोपाङघाट, राजाको बगर र जलजला गाउँपालिकाको खनियाघाट, फर्से, केराबारी, मिलनचोक, बारीबेनीलगायत स्थानमा रातको मौका छोपेर नदी उत्खनन् भइरहेको छ । कुश्मा नगरपालिकाले पनि जिल्ला प्रशासन, जिल्ला समन्वय र प्रहरीलाई धेरै पटक नदी अनुगमन र नियन्त्रणका लागि पत्र काटिसकेको छ । ‘नगरपालिकाबाट नदी दोहन रोक्न प्रहरी, प्रशासन र समन्वय सँग धेरै आग्रह गरिसकिएको छ,’ नगरपालिकाका एक अधिकृतले भने, ‘हामीसँग नगर प्रहरी छैनन् । कर्मचारी गएर भएन । सम्बन्धित ठाउँमा पत्र नै पठाउँदा पनि कार्यान्वयन हुँदैन ।’

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully