मध्यबिन्दुका ५२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको पुष्टि भएको छ।
नवलपुर — पूर्वी नवलपरासीमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ भने ६ जनामा रोग लागेको पुष्टि भएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरका जनस्वास्थ्य अधिकृत शैलेन्द्र कुमार सिंहका अनुसार मध्यबिन्दु नगरपालिकामा वडा नम्बर १ का ५२ वर्षका एक पुरुषको उपचारको क्रममा भरतपुर सीएमसी अस्पतालमा मृत्यु भएको हो ।
यसैगरी कावासोती नगरपालिकामा ३ जना, मध्यबिन्दु नगरपालिकामा २ जना र देवचुली नगरपालिकामा १ जनामा रोग लागेको पुष्टि भएको छ । जिल्लामा जापानिज इन्सेफ्लाइटिस रोगका बिरामी बढ्दै गएपछि प्रदेश जनस्वास्थ्य कार्यालयले सजगता अपनाउन र यसबारेमा जनचेतना जगाउन सबैलाई आग्रह गरेको छ ।
साथै जिल्लाका सञ्चारमाध्यमबाट यस रोगबाट बच्न गरिने उपायका विषयमा सचेतना फैलाउन सन्देश मूलक सामग्री प्रसारण गरिदिन पनि आग्रह गरेको छ ।
