बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध 

म्याग्दी खण्डको ७६ किलोमिटर दूरीमा पहिरो खसेपछि बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

Beni-Jomsom and Beni-Darbang road blocked

म्याग्दी — मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएको छ ।

रघुगंगा गाउँपालिका–२ माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र ७ महभिरमा पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा खसेको पहिरोले मङ्गला, मालिका र धवलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विशाल दर्जीले बताए । 

सडक अवरुद्ध हुँदा सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्रको यातायात सम्पर्क टुटेको छ भने यहाँको जनजीवन प्रभावित भएको छ । सडक विभागको डोजर प्रयोग गरेर बेनी–जोमसोम र पूर्वाधार विकास कार्यालयमार्फत बेनी–दरबाङ सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully