आलु खाने प्रतियोगितामा पहिलो हुनेलाई पाँच पाथी आलु, दोस्रो हुनेलाई तीन पाथी र तेस्रो हुनेलाई एक पाथी आलु पुरस्कार राखिएको छ ।
What you should know
गोरखा — आलु खेतीको प्रवर्द्धन गर्न धार्चे गाउँपालिका–२ गुम्दामा आलु मेला सुरु भएको छ । स्थानीय गुम्दा एकता युवा क्लबको आयोजना तथा थामरा धार्चे युवा क्लबको सह आयोजनामा भएको मेलाको सोमबार धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले उद्घाटन गरे ।
मेला भदौ ५ गते सम्म सञ्चालन हुने छ । मेलामा आलुका परिकार तथा हस्तकलाका सामाग्री प्रदर्शनमा राखिएको छ । मेलाको अवसरमा खुल्ला पुरुष/महिला भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ ।
पुरुष भलिबल प्रतियोगितामा पहिलो हुनेले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुने टिमले ३० हजार नगद पुरस्कार पाउने मेला संयोजक नवीन गुरुङले बताए । पुरुष भलिबल प्रतियोगितामा २२ टिम दर्ता भइसकेका छन् । महिला भलिबल प्रतियोगितामा पहिलो हुनेलाई २० हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ७ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । महिलातर्फ ७ टिमले सहभागिता जनाएका छन् ।
आलु खाने प्रतियोगिता मेलाको मुख्य आकर्षकको रूपमा रहने पनि उनले बताए । आलु खाने प्रतियोगितामा पहिलो हुनेलाई ५ पाथी आलु, दोस्रो हुनेलाई ३ पाथी र तेस्रो हुनेलाई १ पाथी आलु पुरस्कार राखिएको छ ।
मेलाको अवसरमा लोक नृत्य तथा समूह नृत्य प्रतियोगिता पनि हुने छ । गुम्दा गाउँ आलु खेतीका लागि प्रख्यात छ । मेलामा आउनेले गुम्दामा उत्पादन भएको आलु पनि खरिद गर्ने गुरुङले बताए । गुम्दा गाउँका तीन सयभन्दा स्थानीयले आलु खेती गर्दै आएका छन् । मेलामा धार्चे गाउँपालिकासहित बारपाक सुलिकोट, आरुघाट, चुमनुव्री, सहिद लखन गाउँपालिकासम्मका स्थानीय पुग्ने गर्छन् ।
गुम्दामा खुमल सेतो, खुमल रातो र स्थानीय जातको आलुको भिन्न–भिन्न स्वाद रहेको स्थानीय बताउँछन् । एक दशक अघि यहाँका स्थानीय पिठ्युँमा आलु बोकेर बिक्रीका लागि बजार झर्थे । अहिले गाउँमै मोटरबाटो पुगेसँगै आलु बिक्रीमा पनि सहज बनेको छ ।
